चितवन, ७ मङ्सिर ।
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा भोलि मङ्सिर ८ गते गायिका समीक्षा अधिकारी र रेनु राना मगरको सांगीतिक प्रस्तुति रहने भएको छ ।
महोत्सवमा दैनिकजसो नारायणी कला मन्दिर, नारायणगढका विभिन्न सांस्कृतिक प्रस्तुति तथा आदिवासी जनजातिका मौलिक सांस्कृतिक कार्यक्रमसमेत भइरहेका छन् ।
रेड रक इभेन्ट एन्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मङ्सिर ३ गतेदेखि महोत्सव सञ्चालन भइरहेको छ । मङ्सिर १८ गतेसम्म चल्ने महोत्सवमा विभिन्न व्यापारिक स्टल, बाल उद्यान, जिरो ग्र्याभिटी राइड, ३६० डिग्री राइड र पिरामिड गेट आकर्षणका रूपमा रहेका छन् ।
बाढीका कारण कुरूप बनेको नारायणी नदी किनारलाई आफ्नै लगानीमा सम्याएर महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवको सफलतालाई भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन र आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रूपमा लिइएको आयोजकको भनाइ छ ।
महोत्सव प्रवेशका लागि साधारण टिकट १०० र विद्यार्थीका लागि ८० रुपैयाँ तोकिएको छ । विशेष कन्सर्ट हुने दिन साँझ ५ देखि ९ बजेसम्म कन्सर्ट जोनमा प्रवेश गर्न साधारणतर्फ ३०० र भिआईपीतर्फ ५०० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । कन्सर्ट जोनमा नगई महोत्सव अवलोकन गर्न चाहनेले भने नियमित टिकटमै प्रवेश पाउनेछन् ।
आज साँझ महोत्सवमा कुमा सागर एन्ड द ख्वपाको सांगीतिक प्रस्तुति रहनेछ । आयोजकले महोत्सवमा सहभागी भई सफल बनाउन सबैलाई आग्रह गरेको छ ।





