भरतपुर, २० साउन ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा भरतपुरस्थित गुरुकुल कलेजका विद्यार्थी असिम कँडेलले ३.९६ जिपिए ल्याएका छन् ।
सोमबार साँझ प्रकाशित नतिजा अनुसार कँडेलेले प्राप्त गरेको जिपिए चितवनकै उत्कृष्ट (चितवन प्रथम) भएको दाबी कलेजको छ । कलेजका सहप्राचार्य जेएन लामिछानले अहिलेसम्म प्राप्त जानकारी अनुसार असिमले प्राप्त गरेको नतिजाले गुरुकुल कलेजका विद्यार्थी चितवनमै प्रथम भएको दाबी गर्नुभयो । यसवर्ष कलेजबाट ३ सय ३५ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए । असिम विज्ञान संकायका विद्यार्थी हुन् । गुरुकुल कलेज २०८० सालको परीक्षामा पनि चितवन जिल्ला प्रथम भएको थियो । शिक्षक विद्यार्थीको अथक मेहनत र परिश्रमले उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजका एकेडेमिक डाइरेक्टर प्रतिक ढकालले बताउनुभयो । नयाँ व्यवस्थापनमा कलेज संचालनसंगै गुरुकुलले बर्षेनी उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्धारा प्रकाशित नतिजाअनुसार देशभरबाट नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा दुई लाख ४२ हजार ७६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यसमा ३८ दशमलव ८३ विद्यार्थीले ‘ननग्रेड’ प्राप्त गरेका बोर्डले जनाएको छ ।





