नारायणीको क्रुजमा ‘चियासँग कविता’ : विद्यार्थीले सुनाए अंग्रेजी कविता

गैंडाकोट, ३ असोज ।
जनक नमुना माध्यमिक विद्यालय, गैंडाकोटको अंग्रेजी क्लबले विद्यार्थीमा पठन संस्कृति विकास तथा अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले नारायणी नदीमा सञ्चालित क्रुजभित्र ‘चियासँग कविता’ कार्यक्रम आयोजना गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा तीस जनाभन्दा बढी विद्यार्थीले अंग्रेजी भाषामा कविता वाचन गरेका थिए । नौलो र सिर्जनात्मक शैलीमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीले क्रुजमा नारायणी नदीको सयर गर्दै आफ्ना कविता सुनाएका थिए । कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थी गरी ६० जनाभन्दा बढीको सहभागिता थियो ।

विद्यार्थीले बाढी–पहिरोको वितण्डा, युवाहरूको आन्दोलन, जलवायु परिवर्तन, युवाको वैदेशिक मोह तथा बुवा–आमाप्रतिको भावनालगायतका समसामयिक विषयलाई कवितामा प्रस्तुत गरेका थिए । विद्यालयमा अध्ययन गरेका कविताबाट प्रभावित विद्यार्थीले आफ्ना अनुभूति र सिर्जनशीलतालाई समेत कवितामार्फत अभिव्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द घिमिरेको प्रमुख आतिथ्य तथा प्रधानाध्यापक बुद्धिसागर पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष घिमिरेले नारायणी नदीमा रहेको क्रुजजस्तो नयाँ स्थानमा आयोजना गरिएको कार्यक्रमले विद्यार्थीलाई बेग्लै अनुभूति प्रदान गरेको बताउनुभयो । यस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै विद्यालयको शैक्षिक स्तर र साख अभिवृद्धिमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।

विशिष्ट अतिथि तथा शिक्षक–अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले नयाँ स्थानमा गरिएको कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको बताउनुभयो ।

प्रधानाध्यापक बुद्धिसागर पण्डितले विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै उत्साहजनक सहभागिताले आगामी दिनमा यस्ता रचनात्मक गतिविधिलाई निरन्तरता दिन थप हौसला मिलेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहायक प्रधानाध्यापक हिमालदेव पंगेनीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । अंग्रेजी विभाग प्रमुख मनोजविक्रम विष्टले कार्यक्रमको सहजीकरण तथा संयोजन गर्नुभएको थियो ।

कार्यक्रममा कविहरू लेखराम सापकोटा, उपेन्द्र त्रिपाठी र उदय अधिकारीलगायतको उपस्थिति थियो । साहित्यकार उदय अधिकारीले विद्यार्थी तथा शिक्षकले वाचन गरेका अंग्रेजी कवितामाथि टिप्पणी गर्नुभएको थियो । साहित्यकार उपेन्द्र त्रिपाठीले नेपाली र अंग्रेजी दुवै भाषामा कविता वाचन गर्नुभएको थियो भने अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले गजल प्रस्तुत गर्नुभएको थियो ।

विद्यार्थीलाई थप उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले अंग्रेजी अध्यापन गराउने शिक्षकहरूले समेत आफ्ना कविता वाचन गरेका थिए । कार्यक्रममा शिक्षकहरू नरेन्द्र कुमाल, मुकुन्द न्यौपाने, मोनिका कँडेल, पुष्पा पाठक, भक्त केसी, रमा बगालेलगायतको सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि घिमिरेले चिया पिएर गर्नुभएको थियो । विद्यालयका शिक्षक भक्त केसीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम नारायणी नदीमा रहेको क्रुजमा सयर गर्दै कविता वाचन गर्ने नौलो अवधारणासहित सञ्चालन गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library