चितवन, ४ असोज ।
शिक्षासेवी, समाजसेवी तथा कलाकार स्वर्गीय होमनाथ उपाध्याय चालिसेको ९७ वर्षको उमेरमा निधन भएको छ । उहाँको वि.सं. १९८६ साल पौष ४ गते काठमाडौंको चाबहिल, मिलनचोकमा प्रेमनाथ उपाध्याय चालिसे र टीका कुमारी चालिसेका सुपुत्रका रूपमा जन्म भएको थियो । वि.सं. २०८३ साल भदौ ३१ गते भरतपुर ७ कृष्णपुर स्थित उज्ज्वलटोलमा रहेको निवासमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
चालिसेले आफ्नो जीवनको लामो समय शिक्षा, समाजसेवा तथा धार्मिक क्षेत्रमा समर्पित गर्नुभएको थियो । उहाँले तत्कालीन रसुवा जिल्लाको साविक लहरेपौवा गाविस–९ मा बसोबास गर्दै नेपाली शिक्षा क्षेत्रमा योगदान पुर्याउनुभएको थियो । उहाँले विभिन्न विद्यालयमा करिब ३४ वर्षसम्म अध्यापन गरी हजारौँ विद्यार्थीलाई ज्ञानको ज्योति प्रदान गर्नुभएको थियो ।
लामो शिक्षण यात्राका क्रममा उहाँले समाजमा शैक्षिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । धार्मिक, सांस्कृतिक तथा पाण्डित्य क्षेत्रमा समेत सक्रिय उहाँले सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गर्नुभएको थियो ।
रसुवामा लामो समय कर्मक्षेत्र बनाएपछि उहाँ वि.सं. २०३९ साल मंसिरमा चितवनमा बसाइँ सरी जीवनको अन्तिम कालखण्डसम्म चितवनलाई कर्मभूमि बनाउनुभएको थियो । शिक्षा, समाजसेवा र धार्मिक गतिविधिमा निरन्तर सक्रिय रहनुभएका चालिसेको व्यक्तित्व शिक्षण र पाण्डित्यमा मात्र सीमित थिएन ।
नेपाली टेलिभिजनको चर्चित तथा चेतनामूलक टेलिशृंखला ‘उजेली’ मा पण्डित तथा लमीको जीवन्त भूमिका निर्वाह गर्दै उहाँले अभिनय क्षेत्रमा समेत आफ्नो विशिष्ट छाप छोड्नुभएको थियो । यसबाट उहाँको अभिनय प्रतिभाले देशव्यापी रूपमा पहिचान पाएको थियो ।
सामाजिक, राजनीतिक तथा धार्मिक गतिविधिमा सक्रिय चालिसे स्थानीयस्तरमा समेत आदरणीय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँको निधनले चालिसे परिवारसँगै शिक्षा, समाजसेवा, धार्मिक तथा सामाजिक क्षेत्रमा समेत अपूरणीय क्षति पुगेको छ ।
स्वर्गीय चालिसेका ३ छोरा, ४ छोरी, ३ बुहारी, ३ ज्वाइँ तथा नाति–नातिनी र पनाति–पनातिनीसहितको ठूलो परिवार रहेको छ । परिवारले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्ति तथा वैकुण्ठबासको कामना गरेको छ ।





