धनुषा, ४ असोज ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२, साविक रमदैया भवाडी गाविसका वडा नम्बर १, ५ र ९ का २४२ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय परिवारले लालपुर्जा प्राप्त गरेसँगै आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन् । नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रको जग्गा नापजाँचको काम २०७४ सालमै सम्पन्न भएको थियो । तर नापजाँच तथा नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले २४२ परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
लालपुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ । जग्गा दर्ता भई प्रमाणपुर्जा प्राप्त भएपछि स्थानीय बासिन्दालाई जग्गाको कारोबार, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन तथा जग्गासम्बन्धी विवाद समाधान गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यससँगै धनुषामा हालसम्म ४ हजार ३५४ परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।





