काठमाडौं, ३ असोज ।
साझा यातायातले शनिबारदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन सेवा विस्तार गरेको छ । संविधान दिवसको अवसर पारेर कम्पनीले हाल सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई चार गुणाले विस्तार गरेको जनाएको छ । ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा हुने छन् ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुईवटा रुटमा सात वटा बसमार्फत रात्रिकालीन सेवा सुरु गरिएको थियो । हाल नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा सञ्चालन हुँदै आएको सेवा अब थप रुटमा विस्तार गरिएको हो ।
शनिबारदेखि बुढानीलकण्ठ–गोदावरी रुटमा ६ वटा, जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा, विमानस्थल–नागढुंगा रुटमा ४ वटा, कीर्तिपुर–जमल रुटमा ४ वटा तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी ८ वटा विद्युतीय बस सञ्चालन हुनेछन् । यससँगै यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा क्रमशः चार र तीन वटा बस चल्ने जनाइएको छ।
कम्पनीका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्नेछन्।





