भरतपुर, ३ असाेज ।
चितवनमा पछिल्लो समय सक्रिय देखिएका लेखक विनाेदबाबु रिजालले लेखेकाे कथासङ्ग्रह ‘नैबेद’ यतिखेर सर्वाधिक चर्चामा छ । चाैधवटा कथा सङ्ग्रहित नैबेद पाठकले निकै मन पराएका छन् ।
गएकाे असार २० गते सार्वजनिक गरिएकाे किताबकाे प्रतिक्रिया सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा प्रत्यक्ष भेटघाटबाट पनि लेखकले पाइरहेका छन् । तर, लेखकले शनिबार केही प्रतिनिधि पाठकलाई भाैतिकरूपमै भेटेर प्रतिक्रिया सुनेका छन् ।
चितवनका लेखक, साहित्यकार, साहित्यिक सङ्घसंस्थाका प्रतिनिधि, समीक्षक तथा विशुद्ध पाठक उभ्याएर लेखक रिजालले साेधे- ‘नैबेदमा के छ ?’ खासमा याे प्रश्नकाे जबाफ लेखकले दिनुपर्ने हाे । तर, लेखककाे भनाइ छ- ‘लेखेपछि लेखककाे काम सकियाे, बाँकी के छ, के छैन, के भयाे, के भएन भन्ने काम पाठककाे हाे ।’
त्यसैले लेखकले कार्यक्रमकाे नाम नै राखे- ‘नैबेदमा के छ ? ‘ याे प्रश्नमा सबैकाे साझा जवाफ थियाे- ‘नैबेदमा गज्जबमा कथा छन्, तिनले बहुक्षेत्र समेटेका छन्, पढ्दा मज्जा आउने छन्, सरल र सबैले सजिलै बुझ्ने खालका छन् ।’
साहित्यकार डीआर पाेखरेलले भने- ‘विनाेदजीसँग कथा भन्ने गज्जबकाे शैली रहेछ, मुख्यकुरा उहाँले बनाएका संवादकाे संरचना निकै उत्कृष्ट छन् ।’
त्यसमा सहमति जनाउँदै सेवानिवृत्त शिक्षा प्रशासक बाबुराम दवाडीले थपे- ‘उहाँबाट याे स्तरकाे लेखन मेराे अपेक्षामा थिएन । तर, नैबेद पढिसकेपछि मलाई लाग्याे राष्ट्रियस्तरका भनेर हामीले मानेका काेही पनि कथाकारकाे भन्दा कमकाे स्तर उहाँकाे छैन ।’
पत्रकार तथा उच्च शिक्षा अध्यापक मधुसूदन दवाडीले भने- ‘पछिल्लाे समयमा लेखनमा आएका पत्रकारहरूलाई उहाँले धेरै पछाडि पार्नुभएकाे छ ।’ बरू पहिलाे कथामा नै हासिल गरेकाे उचाइले आगामी दिनमा आफैँलाई चुनाैती खडा गर्ने टिप्पणी उनले गरे । उनले भने- ‘उचाइ लिनुभन्दा गाह्राे उचाइ कायम गरिरहनुमा हुन्छ, आगामी कृति याे वा याेभन्दा अझै उच्चस्तरको ल्याउन धेरै मेहनत गर्नुपर्छ ।’
कवि सूर्यवदना हमालले कथा निकै मर्मस्पर्शी लागेकाे बताइन् । ‘माहिली कथामा घर छाेड्न बाध्य महिलाले बच्चासँग छुट्दा देखाएकाे प्यारले मेराे आँसु झर्यो’, उनले भनिन्- ‘पाठककाे मन छाेयाे भने कथाकार सफल भयाे भन्ठान्दा हुन्छ ।’
कवि तथा शिक्षक विपिन पाठकले ‘भाेग’ कथालाई सङ्ग्रहकै सबैभन्दा बलियाे भने । ‘एकजना निसन्तान महिलाले आफ्नाे काेख भराउन अर्काकाे सन्तान भाेग दिनसम्म सक्छिन् भन्ने कथाले देखाएकाे छ’, उनले भने- ‘याे स्तरकाे कथा निकै कम लेखिन्छन् ।’ सरलता र सस्पेन्सकाे सिर्जना सबै कथाकाे बलियाे पक्ष रहेकाे उनले बताए ।
सङ्ग्रहमा रहेकाे ‘टाई’ कथामाथि पनि धेरैले टिप्पणी गरे । शैक्षिक बेथितिविरुद्ध लेखिएकाे टाईले विद्यालय शिक्षाका कमजाेरी र गरिब विद्यार्थीका बाध्यता बाेलेकाे बताए । कविलास माध्यमिक विद्यालयका शिक्षक राजुकुमार सापकाेटाले आफू कार्यरत विद्यालयमा एकैवर्ष पाँच जना विद्यार्थीले आत्महत्या गरेकाे घटना सम्झिँदै भने- ‘हाम्रा विद्यालयमा कमजाेरी छन्, हामीले सिकाउने पद्धतिमा समस्या छन् ।’ ती विद्यार्थीले टाईकै कारण आत्महत्या गरेकाे नभए पनि ती घटनासम्म पुर्याउने परिवेश र बाध्यता उस्तै भएकाे उनले बताए ।
लेखक रिजालसँगै आफूले केही समय एउटै विद्यालयमा पढाएकाे स्मरण गर्दै उनले टाई कथामा उनले व्यक्त गरेकाे असन्तुष्टि शिक्षण दाैरान पनि व्यक्त गरेकाे सम्झिए ।
वातावरण क्षेत्रका अभियन्ता अपिल घिमिरेले पहिलाे किताब ‘एकान्तवास’ बाट प्रभावित भएकाे सम्झिँदै दाेस्राे किताबबाट त रिजालले धेरै स्तर बढाएकाे टिप्पणी गरे । सङ्ग्रहकाे सबैभन्दा लामाे कथा ‘क्याप्टेन डाँडा’ आफूलाई मन परेकाे भन्दै उनले भने- ‘नियात्रा शैली भएकाेले पनि याे कथा पढ्दा लामाे भएकाे महसुस हुन्न, मज्जा आउँछ ।’
कवि मेनका चापागाईंले कथाहरूमा विविधता पाइनु सङ्ग्रहकाे सबैभन्दा सबल पक्ष रहेकाे बताइन् । ‘कथाहरूमा महिला पात्र सशक्त छन्’, उनले भनिन्- ‘याे पक्ष पनि मलाई मन परेकाे हाे ।’ तर, ‘लिली गार्डेन’ की श्रेया जस्ताे सशक्त महिला पनि आफूले नखाेजेकाे बताइन् । श्रेयाले विवेकलाई कारण नबताई एकपक्षीय ब्रेकअप दिएर हदभन्दा बढी सशक्त महिला देखिएकी टिप्पणी उनले गरिन् ।
महिला पात्रबीचकाे द्वन्द्वको कथा ‘बाेक्सी’ पढेका सन्ताेष मजाकाेटीले याे कथाले आफूलाई निकै प्रभावित गरेकाे बताए । ‘गाउँतिर कमजाेर मान्छेलाई बाेक्सी भन्ने गरेकाे थाहा पाएकाे थिएँ’, उनले भने- ‘याे कथा पढेपछि के लाग्याे भने जसकाे दिमागमा नकारात्मकता छ, त्यही बाेक्सी हाे ।’
सङ्ग्रहकाे पहिलाे कथा ‘अर्की गर्लफ्रेन्ड’ काे स्वाद पनि पाठकले मन पराएका छन् । यसमा मान्छे र कृत्रिम बुद्धिमत्ता (एआई) बीचकाे अस्वाभाविक प्रेमसम्बन्ध समेटिएको छ । ‘अबकाे दुनियाँमा एआई नबुझे पछि परिन्छ’, शिक्षक तेजबहादुर कार्कीले भने- ‘कथाकारले यतिसम्म बुझेर कथै लेखिसक्नुभयाे, जसले जानेन उसलाई अप्ठ्यारो पर्छ ।’ यही कथाबाट प्रभावित भएका साहित्यकार डीआर पाेखरेलले थपे- ‘एआईले बाेलेकाे संवाद कति सशक्त र स्वाभाविक छ, याे लेखककाे बलियाे पक्ष हाे ।’
समालाेचक रमेश प्रभातले कथा मध्यमभन्दा माथिल्लाेस्तरकाे भएकाे टिप्पणी गरे । उनले कथामाथिकाे छलफललाई चितवनबाट विस्तार गरेर अरू जिल्लामा पनि लैजानुपर्ने बताए ।
पाठक प्रवीण सन्नाटाले किताबकाे आवरणमाथि सुन्दर टिप्पणी गरे । ‘न अक्षर नै निकै सुन्दर हुन्छ, न निहुरिनुकाे प्रतीक हाे, कथाकारले नबाटै किताबकाे नाम राख्नुभएको छ’, उनले भने- ‘अर्काे कुरा आवरणमा महिलाकाे चित्र र त्यसमा रहेका सूक्ष्म कुराहरूले किताबलाई मज्जाले प्रस्तुत गरेकाे छ ।’
अर्का पाठक सुशील न्याैपानेले ‘नैबेद’ले आफूलाई गम्भीर पाठक बनाइदिएकाे बताए । ‘म खासै किताब पढ्ने मान्छे हाेइन’, उनले भने- ‘तर, नैबेदले तानेपछि राति तीन बजेसम्म पढेर दुई दिनमा समाइदिएकाे हुँ, कथा निक्कै वजनदार लागे ।’
सम्पूर्ण किताब नारायणगढले आयाेजना गरेकाे कार्यक्रममा पाठकले किताबका केही कमजाेरी पनि खुट्याएका छन् । केही वर्णविन्यासका र केही घटना प्रस्तुतिका समस्या उनीहरूले औँल्याए । त्यस्तै केही साहित्यकारले वैचारिकरूपमा अझै प्रष्टता र सन्देशका दृष्टिकोणले अलमल नभएकाे कथा आगामी दिनमा आउनुपर्ने बताए ।
कथाकार रिजालले सुझाव मननयाेग्य भएकाे भन्दै कथा कस्ता भए भन्ने विषयमा पाठक स्वच्छन्द हुनुपर्ने बताए । कार्यक्रम सहजीकरण गरेका सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले चितवनका कृतिहरूमध्ये छाेटाे समय बढी चर्चा पाएकाे किताबमा नैबेद पनि परेकाे बताए ।





