१५ वर्षदेखि रुग्ण कमला नदीको पुल निर्माण अन्तिम चरणमा

भरतपुर, ३ असोज ।
१५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल अबको दुई महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको हो ।

पूर्वाधार विकास मन्त्रालयले आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि बाँकी कामले गति लिएको हो । ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण पुल निर्माण लामो समयदेखि रोकिएको थियो ।

नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सब–स्ट्रक्चरको ढलानसमेत सकिएको छ । पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम पनि सम्पन्न भइसकेको छ । अब सुपर–स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी रहेको मन्त्रालयले जनाएको छ । आगामी हप्ता नदीमा पानीको सतह घटेपछि उक्त कामसमेत सम्पन्न गर्ने तयारी छ ।

धनुषातर्फ पुलसम्मको पहुँच सडक निर्माणका लागि माटो भरिए पनि वर्षाको पानीले बगाएर क्षति पुर्‍याएको छ । नदीमा पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिनेछ। सिराहातर्फको पहुँच सडकमा भने माटो भर्ने काम सम्पन्न भइसकेको छ । पुलको लोड परीक्षणसमेत सम्पन्न भइसकेको छ ।

२०६८ सालमा पप्पु लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएको थियो । २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो ।

यसैबीच, मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ । नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन् । आगामी हप्ता प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने तयारी मन्त्रालयको छ ।

यो विवरण पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library