बैतडी, २२ माघ ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।
पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र–०२–००१ ख १११९ नम्बरको बस आज (बिहीबार) बेलुकी करिब ८ बजे पुर्चौँडी–७ स्थित बडगाउँ मोडमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बलदेव बडूका अनुसार दुर्घटनामा एक महिला र सात पुरुष गरी आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ४५ जनाको उद्धार गरी स्थानीय स्वास्थ्य चौकी तथा अन्य उपचार केन्द्रमा पठाइएको छ। घाइतेहरूको अवस्था बारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रहरीका अनुसार उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





