जतिबेला औंलाहरूले
न्यानो स्पर्श खोजिरहेका थिए
आँखाहरू
ओभानो उज्यालोको प्रतीक्षामा थिए
रहरहरुका थाकेका पातहरू पहेलिँदै
एक-एक गर्दै झरिरहेका थिए
बर्खे भेलले पाइतालाका डोबहरू मेटाइरहेको थियो
क्षितिजभरि निराशाका बादल भरिएका थिए
त्यतिबेला
मेरो साथमा तिमी मात्र थियौ ।
कठ्याङ्ग्रिएर अचल बनेको
पक्षी-मनलाई
फेरि पखेटाको अर्थ सम्झायौ
बन्द पिँजडाभित्र थुनिएका
सपनाहरूलाई खुला आकाशको दिशा देखायौ ।
तरल बनेका आँखाहरूमा
आँसु मात्र होइन,
भोलिको उज्यालो पनि अटाउँदो रहेछ भन्ने
विश्वास भरिदियौ
हारका प्रत्येक अध्यायलाई
अन्तिम सत्य होइन,
अर्को यात्राको प्रस्तावना भनेर
पढ्न सिकायौ
पतिङ्गरझैँ हलुङ्गा बनेका
मेरा विश्वासहरूमा
भरोसाका मांसपेशी थपिदियौ
निराशाको मरुभूमिमा
आशाको एउटा सानो बीउ रोप्यौ
लडेका हरेक मोडमा
उठ्ने साहस तिमीले दियौ
हराएका हरेक बाटोमा
आफ्नै पाइतालामाथि भरोसा गर्न सिकायौ
थाकेर बिसाउॅंदा
आफ्नै बलमा उभिन सिकायौ
जीवनले सोधेका कठिन प्रश्नहरूको
उत्तर अनुभवमा भेटिन्छ भन्ने
तिमीले नै बुझायौ ।
प्रिय समय,
मेरो हरेक तिता र मिठा क्षणको
एकमात्र साक्षी
अदृश्य शुभचिन्तक
र मेरो हरेक परिपक्वताको गुरु
तिमीलाई गुरुपूर्णिमाको
मुरीमुरी शुभकामना ।।





