काठमाडौं, १० साउन ।
काठमाडौं र धादिङ जोड्ने नेपालको पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । सुरुङमार्ग र बलम्बु फ्लाइओभरमा जडान गरिएका सडक बत्तीका कारण राजधानीको पश्चिमी प्रवेशद्वार रातको समयमा झिलिमिली देखिन थालेको छ ।
करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको २.६८ किलोमिटर लामो सुरुङमार्गसँगै २.५५७ किलोमिटरको आपतकालीन सुरुङ पनि निर्माण गरिएको छ । सुरुङ सञ्चालनको पहिलो दिन आपतकालीन सवारीलाई मात्र प्रयोग गर्न दिइनेछ भने त्यसपछि निजी र सार्वजनिक सवारीलाई चरणबद्ध रूपमा सञ्चालन गरिनेछ। पैदलयात्री, दुईपाङ्ग्रे तथा प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने प्रवेश अनुमति हुनेछैन ।
सुरुङमार्ग प्रयोगका लागि सरकारले सवारीको प्रकारअनुसार शुल्कसमेत निर्धारण गरेको छ । जापान सरकारको ऋण सहायता र नेपाल सरकारको लगानीमा निर्माण भएको यस आयोजनाले नागढुंगाको ट्राफिक जाम घटाई यात्रा सुरक्षित, छिटो र सहज बनाउने अपेक्षा गरिएको छ ।





