चितवन, २८ साउन ।
चितवनमा रगतको अभाव न्यूनीकरण गर्दै आकस्मिक अवस्थामा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘आकस्मिक घुम्ती रक्तदान कार्यक्रम’ निरन्तर विस्तार हुँदै गएको छ ।
मानवताको लागि रक्त अभियान को आयोजनामा तथा प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुर–चितवन को प्राविधिक सहकार्यमा सञ्चालित अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा पुगेर नियमित रूपमा रक्त सङ्कलन गरिँदै आएको छ । हालसम्म अभियानका १२ वटा घुम्ती रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।
आयोजकका अनुसार, अभियानअन्तर्गत एकै कार्यक्रममा अधिकतम ५० जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् । यसले जिल्लामा बेला–बेलामा देखिने रगतको अभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ ।
यसैक्रममा मङ्गलबार नारायणी नदी किनारमा घुम्ती रक्तदान कार्यक्रम आयोजना गरिएको छ। प्राकृतिक वातावरणबीच सञ्चालन हुने कार्यक्रममा स्थानीयवासी, युवा, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।
रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा स्थापित गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको यस अभियानले नियमित रक्तदाता उत्पादन गर्नुका साथै आवश्यक पर्दा बिरामीले समयमै सुरक्षित रगत प्राप्त गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
स्वास्थ्यकर्मीहरूले स्वस्थ व्यक्तिलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्दै “रक्तदान जीवनदान” को भावनालाई व्यवहारमा उतार्न सबै नागरिकलाई अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।





