हाम्रा जुम्ल्याहा आज दुई वर्ष पुगे ।
ठीक एक सालअघि मैले एउटा आर्टिकल लेखेको थिएँ– ‘को अभागी, को भाग्यमानी ?’ पढ्न रुचि लाग्यो भने यो आर्टिकलको अन्तिममा लिंक पाउनुहुने छ । त्यो आर्टिकलमा मैले हाम्रा दुई समयकालमा हामीलाई व्याख्या गर्ने भाष्य कसरी परिवर्तन भए भन्ने कुरा लेखेको छु ।
पहिले सन्तान प्राप्तिका लागि भौँतारिएर हिँडिरहँदा हामीलाई धेरैले ‘कस्तो अभागी रहेछन् यिनीहरू त’ भन्थे । त्यो बेला हामीजति अभागी यो संसारमा अरू कोही भएनन् । तर, फ्याट्ट हाम्रा जुम्ल्याहा जन्मिएपछि हामी एक्कासि भाग्यमानी दरियौँ । वास्तवमा निरपेक्षरूपमा कोही पनि अभागी वा भाग्यमानी एकछत्र भइरहन सम्भव छैन । यो त समयकालमा परिवर्तन हुँदै जाने कुरा हुन् ।
मलाई धेरैले सोध्छन्– ‘एकैचोटि दुइटा, त्यो पनि छोरा र छोरी मिलाएरै ? लौ न कसरी हो ?’
कतिपयले भन्छन्– ‘जुम्ल्याहा बनाउने विशेष सूत्र हुन्छ रे नि त !’
समयसन्दर्भ मिलाएर हिजो असोज ६ गते भरतपुरमा लेट्स टकले आयोजना गरेको ‘सन्तान प्राप्तिः विरासतको निरन्तरता कि खुसीको खोजी’ कार्यक्रममा बहसकर्ता विपिन पाठकले सुरुआतमै मलाई सोधे– ‘तपाईंले त एकै पेनाल्टीमा दुई गोल ठोक्नुभयो, यसको राज के छ ?’
हाम्रो घरगाउँमा एउटा पुरानो मान्यता छ– ‘घरमा जुम्ल्याहा जन्मने पूर्वसङ्केत मिल्छ ।’
तपाईंलाई म सुनाऊँ ?
मेरा जुम्ल्याहा पेटमा आउने वर्ष मेरो करेसाबारीको एउटा मुला जुम्ल्याहा परेछ । संयोगले मैले नै उखेलेको थिएँ त्यसलाई । कल्पनाले मलाई खुसुक्क भनेकी थिइन्– ‘ओहो ! दुइटा पाइन्छ कि के हो ?’
घरमा फलेको केरा जुम्ल्याहा पर्यो भने ‘बाँडेर खाओ है, सन्तान जुम्ल्याहा जन्मिएलान्’ भनेको धेरै सुनेको थिएँ । तपाईंले पनि सुन्नुभएकै होला । मलाई चाहिँ किन छुचो हुन मन लागेको हो कुन्नि– जुम्ल्याहा केरा पाएँ भने एक्लै खाइदिन्थेँ । स्वभावैले म विज्ञानले प्रमाणित नगरेको कुरा मान्दै मान्दिनँ । आफूलाई होइन जस्तो लागेको कुरामा जसले भने पनि सहमत हुनै मन लाग्दैन । त्यही मान्यता र स्वभावले गर्दा मैले जुम्ल्याहा केरा कति खाएँ–खाएँ ।
के मेरा जुम्ल्याहा सन्तान जन्मनुमा मैले खाएको जुम्ल्याहा केरा र जुम्ल्याहा मुलाको भूमिका छ त ?
हाम्रा आधारहीन मान्यतालाई मान्नुहुन्छ भने भूमिका छ, किन नहुनु ! मैले नै जुम्ल्याहा केरा खानु, अनि मेरो सन्तान जुम्ल्याहा जन्मनु यही हैन र भूमिका !
मैले लगाएको यस्तो गफमा नभुल्नुस् है । किनकि, विज्ञानले यसरी–यसरी हुन्छ भनेकोबाहेक अरू कुरामा म विश्वास गर्दिनँ । म त विश्वास गर्दिनँ भनेपछि यही मान्छेले लगाएको गफमा तपाईंले किन विश्वास गर्ने, कसरी विश्वास गर्ने ल भन्नुस् त ।
म तपाईंलाई अर्को प्रसङ्ग सुनाउँछु ।
हामी सन्तान प्राप्तिको चरम सङ्घर्षको क्षणमा थियौँ । त्यो बेला हामीले धेरै गुमाइसकेका थियौँ, धेरै गुमाउन तयार पनि । मैले हिजोको कार्यक्रममा पनि भनेँ कि, ‘त्यो बेला हामी एउटा हातले हामीसँग भएका सबै जेथा बुझाएर अर्को हातले सन्तान लिन पनि तयार थियौँ ।’ अर्थात् भएको सबै सम्पत्ति बुझाएर बदलामा एक सन्तान मिल्छ भने हामी सट्टापट्टाको लागि तयार थियौँ ।
भौँतारिएर, आत्तिएर, अत्तालिएर हिँडिरहेको बेला चितवन रामनगरका एकजना भाइले मैले लेखेको किताब ‘एकान्तवास’ पढेछन् । मैले किताबमा हामीले सन्तानको खोजीमा खाएको हण्डर त्यस किताबमा लेखेको छु । त्यसमा हामीले पाएको दुःखबारे जानेपछि असाध्यै स्तब्ध हुँदै उनले मलाई फोन गरे– ‘दाइ एकचोटि भेट्नुपर्यो, मसँग उपाय छ ।’
मैले भनेँ– ‘ठीक छ भेटौँ न त ।’
भरतपुरको आइल्याण्ड होटलमा भेटियो । उनले सोधे– ‘झारफुकमा कत्तिको विश्वास छ दाइ ?’
‘अँ भन न’, पटक्कै विश्वास नलाग्ने मैले सुनिदिऊँ न भन्ने हिसाबले भनेँ ।
‘विश्वास गर्नुस् दाइ, म पनि कम्युनिष्टको छोरो हुँ । घरमा भगवान्, पूजाआजा, झारफुक केहीमा पनि विश्वास गर्दैनन्’, उनले भन्दै गए– ‘सुरुमा मलाई पनि यस्तो पनि हुन्छ र भन्ने लाग्थ्यो । मेरी श्रीमतीको पनि ३ महिनामा बच्चा खेर गयो । बाह्रघरेमा एउटी माता रहिछन् । मलाई कसैले त्यहाँ लगिदियो । दुईचोटि तिनले फुकिन् र एउटा बुटी खान दिइन् । अहिले मेरी सुन्दर छोरी छिन् । स्वस्थ छिन्, हँसिली छिन् ।’
‘ए’, मैले यत्ति भनेँ ।
‘जानुस् दाइ, विश्वास गरेर बुटी खान दिनुस्, हुन्छ–हुन्छ’, भाइ बिदा भए ।
भाइले हामीलाई होओस् भन्ने कामना गरेरै यति भनेका थिए । उनलाई मैले किन अन्यथा ठान्नू ! उनले मलाई नम्बर पनि दिए माताको ।
घर फर्किएपछि कल्पनालाई सुनाएँ । कल्पना तुरुन्तै तयार भइन्– जाऔँ न जाऔँ । भइहाल्छ कि !
‘हत्तेरी ! दुनियाँ डाक्टरले नसकेको सक्छिन् तिम्री माताले !’, म छुच्चो बनेँ– ‘अब कतै नजाने ।’
‘तिम्रो यही पाराले हो केही पनि राम्रो नभइरहेको’, उनले मौका पाएको बेला घनले प्रहार गरेजस्तो गरिन्– ‘आशा गर्ने ठाउँमा गरौँ न, सकारात्मक सोचे सफल भइन्छ ।’
आजसम्म श्रीमतीको अगाडि कसैको केही लागेको छ र ! तपाईंको लागेको छ ? कसैको लागेको थाहा पाउनुभएको छ ? त्यहीमाथि यति संवेदनशील विषयमा कल्पनालाई मैले जबरजस्ती रोक्नु हुँदैन थियो । उनको मन राख्न पनि वा आशा जीवितै राख्न पनि गइदिनु पर्ने थियो । म गएँ । हामी गयौँ ।
‘माता’ वृद्ध रहिछन् । निकै बूढी । पिँढीमा बस्दी रहिछन् । त्यहीँ टन्नै बट्टाहरु थिए प्लाष्टिकका । केही धुप पनि थिए । हामी पुग्दा एउटी पैँतीस आसपासकी महिला माताको अगाडि थिइन् । उनको अनुहार निन्याउरो थियो । माता हातमा मोबाइल लिएर के–के मन्त्र पढ्दै थिइन् । हामीलाई बस्न भनिन् । अलि पर मुढा थिए । तानेर बस्यौँ ।
‘माता’ ले मन्त्र उच्चारण गर्दै देब्रे हातले समातेको मोबाइलमा दाहिने हातले खरानी दलिन् । अनौठो लागेर लम्किएर हेरेँ मैले । मोबाइलमा एक अधबैँशे पुरुषको फोटो थियो । दुई–तीनचोटि खरानी दलेपछि ‘माता’ले मोबाइल तिनै महिलालाई दिइन् ।
‘ल अब फर्किन्छ तिम्रो पोइको मन’, माताले हात टकटकाउँदै भनिन् ।
‘कति समय लाग्ला माता ?’, महिला जिज्ञासु बनिन् ।
‘एक महिनाभित्र तिमीलाई फोन गर्छ, उस्तै परे घरै आउँछ’, माताले ठोकुवा गरिन् ।
महिलाको अनुहार उज्यालो भयो । उसले एकचोटि मोबाइलको फोटोमा आशावादी भएर हेरिन् ।
महिला गएपछि ‘माता’ आफैँले भनिन्– ‘यी नानीका श्रीमान् काठमाडौँ बस्दा रहेछन् । छ महिना भयो रे घर पनि नआउने, फोन पनि नगर्ने ! खर्च पानी केही पठाउँदैन रे । बाहिर–बाहिर सुन्दो रहेछ काठमाडौँमा अर्कैसँग लागेको छ रे । मैले फुक्देको छु, अब पक्का फर्किन्छ ।’
म छक्क परेँ । हेरेको हेर्यै भएँ । मेरो हाँसो झण्डै फुस्केन । मान्छेका अन्धविश्वास देखेर मलाई उदेक लाग्यो ।
यता मोबाइलको फोटोमा फुकेर उता काठमाडौँमा बिग्रिएको मन कसरी मोडिने होला ! तैपनि विश्वास गरेर भेटी चढाएर गइन् ती महिला ।
बिरामी बच्चालाई मोबाइलबाट झारफुक गरेको देखेको थिएँ । तिनीहरुका पनि अन्धविश्वास नै हो । कहिँ नपाएर मोबाइलको स्पीकरबाट कानमा फुसफुस सुनाउँदैमा कुनै बच्चाको बिमार निको हुन्छ त !
अब पालो हाम्रो आयो ।
माताले सोधिन्– ‘कति भयो बच्चा नभएको ?’
हामी जोडी बाँधेर गएको देखेपछि तिनले मेसो पाइसकिछन्– पक्कै बच्चाको खोजीमा आएका हुन् ।
केही खोजिनीतिपछि तिनले आफ्नो ‘पावर’को फुइँ लगाइन् । भनिन्– ‘क्यान्सर हस्पिटलका सबभन्दा ठूलो डाक्टरको बच्चै नभएर मैले खुवाएको बुटीले छोरी भई । कस्ती कलकलाउँदी छे । मलाई हरेक वर्ष साडी र पाँच हजार पैसा ल्याइदिन्छन् ।’
मलाई फेरि हाँसो लाग्यो । बटुलेर भित्रै राखेँ पछि हाँस्छु भनेर ।
अर्का एकजनाको बारेमा यस्तो सुनाइन्– ‘नारनघाटको धनीमनी एउटा छ । १० वर्षसम्म बच्चा भएन भनेर आयो, मेरो औषधिले छोरो पायो, दुइटा हजार दिएर टार्यो । लोभी मोरो ।’
यति सुनेपछि बूढी आरिसे रै’छिन् भन्ने अनुमान लाउन मलाई गाह्रो भएन । यो सुनाउनुको तात्पर्य यो बुझियो कि तिनले हामीलाई स्पष्ट चेतावनी दिँदै छिन्– तँ उपचार गर्ने हो भने मलाई सन्तुष्ट पार्नुपर्छ ।
तिनले हातमा खरानीजस्तो केही लिइन् । आँखा चिम्लिएर एकछिन केही गमेजस्तो गरिन् । त्यसपछि आँखा खोलिन् । कल्पनालाई अलि वर आउन भनिन् । निधारमा दलिदिइन् खरानीजस्तो केही । भनिन्– ‘बच्चा हुन्छ । केही बिकार छ । अर्कोचोटि नछुनी भएको चौँथो दिन बिहानै आउनू । म बुटी खुवाउँछु, त्यसको अर्को महिना त बच्चा बसिहाल्छ ।’
त्यो दिन हामीले मातालाई पाँच सय चढाएर फर्कियौँ ।
कस्ता–कस्ता डाक्टर फेल भए यस्ता माताले सन्तान दिए त के ! फर्किंदा मनमा यस्तै सोचेँ । कल्पनालाई केही भनिनँ । उनको आशामा किन निराशा छरिदिनु भन्ने लाग्यो ।
कल्पनाको महिनावारी भएको चौँथो दिन फेरि गयौँ । माता नुहाउँदै रहिछन् । धेरैबेर कुर्नुपर्यो । नुहाइसकेर बाहिर निस्किइन् ।
‘नारनघाटबाट हौ ?’, माताले सोधिन् ।
‘हैन आमा भरतपुरबाट’, मैले भनेँ ।
‘लौ भन के भयो ?’, माताले सोधिन् ।
हामीले पहिले पनि आएको र महिनावारीको चौँथो दिनमा बोलाएकोले दोहोर्याउन आएको बताएपछि माताले भनिन्– ‘ए, ल बस–बस ।’
माताले एउटा गिलासमा काँचो दूध हालिन् । त्यसमा गाईको घिउ र मह पनि राखिन् । खै के–केको धुलो राखेर घोलिन् । एउटा सेतो कपडाको पोको खोलिन् । त्यसमा गहुँका जत्रा एकमुठी दाना थिए । त्यसलाई खेलाउँदै सोधिन्– ‘कतिवटा खाने ?’
हामी अलमल पर्यौँ ।
फेरि उनैले भनिन्– ‘यो शिवबुटी हो । एउटा खाए एउटा बच्चा हुन्छ, दुइटा खाए दुइटा । पोहोर साल टाँडीकी एउटी दाउरी थिई । म त दुइटा बच्चा पाउने भनेर जिद्दि गरी । मैले त एउटा खाऊ, दुइटा पाउन सक्दिनौ भनेको, मानिन । दुइटा खाई, भरे बच्चा पेटमा आएपछि त धौ भयो भन्दै थिई ।’
मलाई दिक्क लाग्यो । कल्पना पनि मुस्कुराइन् । भनिन्– ‘दुइटा खाइदिऊँ क्या हो ! एकैचोटि दुइटा पाएपछि सँगै हुर्किन्छन्, ढुक्क ।’
एकछिन हेरेको हेर्यै भएँ कल्पनालाई । भित्री मनमा उनलाई पनि हुँदो हो, यो अन्धविश्वास हो भन्ने । तर, आशा न हो, उनले गरिदिइन् । भोलि भइहाल्यो भने त हाम्रो के खेर जान्छ र !
‘एउटा खाए एक हजार, दुइटाको दुई हजार’, मोल सुनाइन् माताले ।
मैले सुझाए– ‘यस्तो बुटी खाएर बच्चा हुन्छ भन्नु भ्रम मात्रै हो, बेकार दोब्बर खर्च नगरौँ, एउटा मात्रै खाऊ ।’
कल्पनाले एउटा मात्रै खाने बताइन् । माताले गिलासमा एउटा दानो हालेर अरू पोको बाँधिन् । दुई मिनेट घोलेपछि कल्पनालाई दिइन् माताले । घिनाउँदै आँखा चिम्लेर स्वाट्टै पारिन् कल्पनाले । त्यो दिन मातालाई एक हजार बुझायौँ हामीले ।
केको बच्चा बस्नु, माताको धन्दा सकियो, हाम्रो पैसा । त्यसपछि ती माताको अनुहार हेर्न कहिल्यै गएनौँ ।
यति मात्रै हो र ! सन्तान खोज्न कता पो पुगिएन र ! के–के पो गरिएन र !
ती प्रसङ्ग सबै सुनाउन थालियो भने तपाईंलाई बोर लाग्ने छ । कतै, कहिँ सुनाउन पाइएछ भविष्यमा भने सुनाऊँला नै ।
मैले सुरुमा हिजोको कार्यक्रममा विपिन पाठकले ‘एकै पेनाल्टीमा दुई गोल’ को राज सोधेको प्रसङ्ग ल्याएको थिएँ नि । त्यसमा मेरो उत्तर के थियो होला भन्ने तपाईंले सोच्नुभएको छैन ?
मेरो उत्तर थियो– ‘त्यो ममा रहेको विशेष क्षमता हो ।’
अब सोच्नुभयो होला– ‘जुम्ल्याहा जन्माउने विशेष क्षमता कसैमा हुन्छ र ?’
निश्चय नै हुँदैन । मैले पनि गफै त दिएको हुँ । हिजोआज त मेरो बनिबनाऊ जवाफै यही हुने गरेको छ– ‘मसँग विशेष क्षमता छ, त्यो क्षमता बढाउने विशेष सूत्र पनि छ, सूत्र थाहा पाउने भए ट्युसन पढ्न आऊ ।’
हामीले अझै एक जना धामीले त विशेष मन्त्रद्वारा फुकेको अण्डा खायौ भने सन्तान हुन्छ भनेका थिए । तिनको पनि सर्त थियो– ‘महिनावारीको चौँथो दिन फुकेको अण्डा काँचै खाइदिने ।’
‘अण्डा खाएर बच्चा रहन्छ त ?’, मैले ठाडै सोधेँ ।
म अविश्वासी देखेर तिनलाई झोँक चलेको हुनुपर्छ, भने– ‘तिमीले विश्वास गरेनौ भने त नहुन पनि सक्छ । मुख्य कुरा पत्याउनु पर्यो ।’
मेरो बानी त उही हो, कसरी पत्याउनू !
जुम्ल्याहा जन्माउने अलिअलि सूत्रचाहिँ हुने रहेछ । अरू उपाय नलागेपछि अपनाइएको आइभिएफ (टेस्टट्युब बेबी) प्रविधिमा चाहिँ कति वटा बच्चा जन्माउने भन्ने योजना पहिल्यै बनाउन अलिअलि मिल्ने रहेछ । यो प्रविधिबाट गरिने उपचार निकै महँगो हुने भएकोले पाठेघरमा कतिवटा भ्रुण राख्ने भन्ने निर्णय पहिल्यै गर्न मिल्ने रहेछ ।
यो प्रविधिबाट उपचार गर्ने चिकित्सकले सोध्छन्– ‘कतिवटा भ्रुण राख्ने ?’
सोध्न त सोध्छन् । तर, आफ्नो निर्णय पनि सुनाउँछन्– ‘कम्तीमा दुइटा त राख्ने हो । एउटाबाट नभए पनि अर्को हुने सम्भावना बढी हुन्छ ।’ त्यसो त आइभिएफबाट पनि बच्चा हुने सम्भावना जम्मा तीस प्रतिशत हाराहारी रहेछ । त्यही भएकैले चिकित्सकले जोखिम घटाउन खोजेको देखिन्छ ।
हामीले पनि गरेको त्यही हो । आइभिएफबाट बनेको सात भ्रुणमध्ये पहिले जोडी भ्रुण नै राखिएका हुन् । नतिजा प्रतिकूल आइदियो । दुवै खेर गए । दोहोर्याएर राख्ने बेला फेरि दुई नै राखिए । नतिजा तपाईंले थाहा पाइसक्नुभएको छ– ‘आज उनीहरूको जन्मदिन हो ।’
यति पढिसक्दा मसँग भएको जुम्ल्याहा जन्माउने विशेष क्षमता र विशेष सुत्र थाहा पाउनुभयो त ?
केको थाहा पाउनु ! भए पो थाहा पाउनु !
आइपिभएफमा अलिअलि मिल्ने अनुमानबाहेक यो दुनियाँमा जुम्ल्याहा सन्तान जन्माउने विशेष क्षमता वा सूत्र कसैसँग छैन ।
हामीले पाएका दुःख र भोगेका रमाइला नरमाइला घटना त तपाईंले थाहा पाइहाल्नुभयो । अब सबैले मेरा बाबुनानीलाई भन्नुस् न त– ‘हयाप्पी बर्थ डे केटाकेटी ।’