मनमा कोही पर्खिएर बसेको हुन्छ भनेर
देश फर्किन्छन् प्रत्येक दशैँ सम्झेर
घर छोडेर लाहुर हिँडेकाहरु

उसको पनि अधुरो घर छ
उसकी जहान छोरी छिन् घरमा
न उसलाई दशैँ लाग्छ
न महामारी ।

एकै रात घर छोडेर सदरमुकाम जाँदा
‘घर एक्लो हुन्छ
बेसहरा भयो
अब घरलाई कसले ढाडस दिन्छ ?’
भनेको सम्झिन्थ्यो
धेरै गुमाएर केही कमाउन गएको लाहुरे ।

जवानीमै बुढो भएको
बेल्का पाकेको आकाशको बादल देखेर
एक बिहान तन्नेरी बन्न खोज्दैछ
खोइ किन हो
कसको आगमनलाई कुरेर बसेको हुन्छ घाम ।
अब त जिन्दगीका पाँच वर्ष घामले पोले पनि
अघाएन पैसाको मन लाहुरेको ।

अनुहारमा खुलेका स्पष्ट चाउरीलाई छामेर
मुलुक फर्किन मन त लाग्दो हो,
परानमै बसेका प्याराहरुलाई सम्झेर
गाउँ पस्न रहर लाग्दो हो,
फेरि बेला बेला याद पनि आउँदो हो
एक धुरीको छानो फेर्न
चार वर्ष कुरेको
थप एक वर्षदेखि
हावा पानीलाई छेक्न
झ्यालढोका राख्न नसकेको अस्थिपन्जर घर ।

कसैले नाङ्गो खुट्टामा एक जोर चप्पल राख्देर
आचाक्ली खुसी भएका खुट्टाहरु,
जिउ भरी लुगा लगाएर
हुरुक्कै हुन सकेको छैन
धेरै समयदेखि ।

वर्षका वर्ष दिन थपिँदै गए
दिनको दिन रिन थपिँदै गए
रिनले ‘भयो एकछिन’ भनेर सुत्न दिएको छैन
अब उ निदलाई दराजको सानो खोपामा राखेर
चाबी लुकाएको छ तमसुक सँगै ।

उसलाई अब लाग्न थालेको छ
ट्रक पछाडि लेखिएको अक्षरहरु जस्तो
हुँदैन रहेछ जिन्दगी
कमाउने त देशमा हो,
बरु घुम्न पो विदेश जाने हो भनेर ।

घरबाट जहानको फोन आएको छ
मथिङ्गल हल्लिएको छ बेस्सरी
लर्बराएको छ जिब्रो
आवाज मधुरो छ-
छ वर्षकी छोरीले घरमा उत्तर मागेकी छे,
“आमा नयाँ पुराना मान्छेहरु गाउँ आएका छन्, फेरि रोग फैलियो र ?
छोरीको उत्तर थुक निल्दै फर्काएकी छे,
“होइन सानी, यस्पाली चैं दशैं आयो ।”

(कवि सन्तोषजंग बोगटी लम्कीचुहा नगरपालिका कैलालीमा जनस्वास्थ्य निरीक्षक हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library