चितवन, १८ वैशाख ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाको २२औँ साधारणसभामा तीन जना पत्रकारलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ । महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले शुक्रबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्नुभएको हो ।
मैयाँदेवी पत्रकारिता पुरस्कारबाट पत्रकार अनिल ढकाल, बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट दिप्ती विश्वकर्मा तथा सुजुश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट पूजा ढकाल पुरस्कृत हुनुभएको हो । मैयादेवी पत्रकारिता पुरस्कारको राशि रु ५१ हजार रहेको छ भने अन्य दुई पुरस्कारको राशि जनही रु ११ हजार रहेको छ ।
पुरस्कार वितरणपछि आचार्यले प्रेस स्वतन्त्रताको पक्षमा महासङ्घ निरन्तर लागिरहने बताउनुभयो । सरकारी विज्ञापन निजी मिडियालाई नदिँदा देशभरका सञ्चारमाध्यम धराशायी हुने अवस्था आउने भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ थियो । साथै, पत्रकारहरूले पनि आचारसंहिताभित्र रहेर काम गर्नुपर्ने उहाँले जोड दिनुभयो । पछिल्ला दिनमा पत्रकारिता र सञ्चारमाध्यममाथि नियन्त्रणमुखी गतिविधि बढ्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले पत्रकार महासङ्घ, सम्बद्ध सङ्घसंस्था र पत्रकारहरूसँग सहकार्य गरेर काम गर्न महानगर तयार रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्दै पत्रकारको सुरक्षाका लागि प्रशासन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नारायण अधिकारी, बागमती प्रदेश महासचिव राधेश्याम खतिवडा, महासङ्घका सल्लाहकार प्रकाशमणि ज्ञवाली, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीका उपाध्यक्ष रामकान्त पौडेल तथा प्रेस सेन्टरका अध्यक्ष राजेन्द्र आचार्यलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
महासङ्घका उपाध्यक्ष दीपेन्द्र अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा जन्मदिनको अवसर पारेर महासङ्घका सचिव राजेश घिमिरेले अक्षयकोषका लागि रु २० हजार १ सय १८ सहयोग प्रदान गर्नुभएको थियो ।
महासङ्घका अध्यक्ष वसन्त पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमपछिको बन्द सत्रमा सचिव राजेश घिमिरे र कोषाध्यक्ष कृष्ण आचार्यले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।





