चितवन, १७ वैशाख ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै नेतृत्व तथा करियर विकास कार्यक्रम सञ्चालन गरिने भएको छ ।
बेटर चितवनको पहलमा सञ्चालन हुन लागेको ‘SL2 – Student Led Leadership Program’ नामक कार्यक्रममार्फत विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा भविष्यको करियर तयारीमा सहयोग पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
कार्यक्रम अन्तरक्रियात्मक तथा प्रोजेक्टमा आधारित सिकाइ प्रणालीमा केन्द्रित रहनेछ । यसअन्तर्गत नेतृत्व सीप, समालोचनात्मक तथा सिर्जनात्मक सोच, IQ तथा EQ विकास, सञ्चार सीप, कला र प्रस्तुतीकरण, करियर मार्गदर्शन तथा भविष्य योजना, टोलीकार्य, सार्वजनिक वक्तृत्व तथा प्रेरणाजस्ता विषय समेटिनेछन् ।
कार्यक्रम वैशाख १८ (मे १) देखि सुरु भई २२ दिनसम्म सञ्चालन हुनेछ । सहभागिताका लागि दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको छ । कार्यक्रम भरतपुरस्थित Boston International College मा सञ्चालन हुने जनाइएको छ ।
आयोजकका अनुसार उक्त कार्यक्रमले विद्यार्थीहरूले बिदाको समयलाई उपयोगी बनाउँदै आत्मविश्वास, नेतृत्व सीप तथा करियरसम्बन्धी सचेतना विकास गर्न महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।
कार्यक्रममा आफ्ना छोराछोरीलाई सहभागी गराउन अभिभावकलाई आग्रह गरिएको छ । आयोजक संस्थाकी संयोजक दिपशिखा राखाल मगरले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।





