आँचलद्वारा हास्यव्यङ्ग्यकार आरसी रिजाल अभिनन्दित

मकवानपुर, १८ वैशाख ।
आँचल साहित्य कला पुञ्जको पाँचौँ अधिवेशन तथा १४औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा मकवानपुरका हास्यव्यङ्ग्यकार आरसी रिजाल अभिनन्दित हुनुभएको छ ।

अधिवेशनका क्रममा संस्थाकी अध्यक्ष भावना सापकोटा र प्रमुख अतिथि साहित्यसेवी मुक्तिगोविन्द वैद्यले उहाँलाई अभिनन्दन–पत्र तथा दोसल्ला प्रदान गरी सम्मान गर्नुभएको हो । कार्यक्रममा शिक्षासेवी देवप्रसाद श्रेष्ठ, आँचलकी संस्थापक पूर्णकला घिमिरे, पुरस्कार संस्थापक हरिवंश भेटवाल, प्रकाश लम्साललगायतको विशेष आतिथ्यता रहेको थियो । साथै मकवानपुरका विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, साहित्यकार, कलाकार तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्मानित सर्जक रिजालले वि.सं. २०२८ सालमा ‘कवि बन्ने लहडमा’ शीर्षकको व्यङ्ग्य निबन्ध प्रकाशन गर्दै आफ्नो लेखन यात्रा सुरु गर्नुभएको हो । त्यसयता उहाँ निरन्तर रूपमा हास्यव्यङ्ग्य तथा अनुवाद लेखनमा सक्रिय रहँदै आउनुभएको छ। उहाँका कृतिहरू वि.सं. २०३६ सालदेखि प्रकाशन हुन थालेका हुन् ।

वि.सं. २०३६ मा प्रकाशित खरानीभित्रको आगो (लघु उपन्यास) उहाँको पहिलो कृति हो, जसबाट उहाँले नेपाली साहित्यमा औपचारिक प्रवेश गर्नुभयो। त्यसपछि कुकुरको पुच्छर (२०५५), कण्ठलङ्गौटी (२०५७), हाकिमको खप्पर (२०६३), फू फू फू (२०७०) तथा भोलारामको आत्मा (अनुवादित हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह, २०६६) जस्ता कृतिहरू प्रकाशित भएका छन् । पछिल्लो समय उहाँको ‘को वरिष्ठ?’ शीर्षकको हास्यव्यङ्ग्य निबन्ध कृति पनि प्रकाशनमा आएको छ ।

साहित्य लेखन र साहित्यिक सेवामा पुर्‍याउनुभएको योगदानको कदरस्वरूप उहाँलाई अभिनन्दन गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।
यसैबीच, पाँचौँ अधिवेशनबाट साहित्यकार निरा शर्माको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट