क) विषय प्रवेश:
‘प्रेमको सुगन्ध’ (२०८२) निर्दोष जीवनद्वारा लिखित नवीनतम कृति—मुक्तकसङ्ग्रह हो । यसमा विविध भाव र विषयवस्तुमा सिर्जना गरिएका २०० मुक्तकहरू समावेश छन्। गायक तथा सङ्गीतकारसमेत रहेका जीवनका यसअघि गीति एल्बमहरू, कथा सङ्ग्रह ‘मैयाँ’ र उपन्यास ‘नोस्टाल्जिया’ प्रकाशित भइसकेका छन् र दुवै कृतिहरूको दोस्रो संस्करण बजारमा उपलब्ध छन् ।
‘प्रेमको सुगन्ध’ सार्वजनिक भएको दुई हप्तामै दोस्रो संस्करण बजारमा आउनुले लेखकको क्षमता र लोकप्रियतालाई सहजै आँकलन गर्न सकिन्छ ।
ख) मुक्तकबाहेक:
झट्ट पुस्तक हेर्दा नै जञ्जीर फोटोग्राफीको आकर्षक आवरणले मन तानिहाल्छ । खोतल्दै जाँदा प्रकाशकका रूपमा गजल मञ्च चितवन, मुद्रण सिद्धबाबा अफसेट प्रेस र वितरकका रूपमा सम्पूर्ण किताब नारायणगढ रहेको देखिन्छ ।
अगाडिपट्टि गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायसको प्रकाशकीय लेख छ भने पछाडिपट्टि उपप्राध्यापक रमेश प्रभात, धनराज गिरी र लेखराम सापकोटाका शुभेच्छा सन्देशहरू समावेश छन् ।
सबैभन्दा ओज थपिएको भाग भने कभरको पछाडितर्फ मुक्तक साम्राज्ञीका रूपमा चिनिने वरिष्ठ साहित्यकार उषा शेरचनको शुभभाव हो ।
ग) ‘प्रेमको सुगन्ध’ चारैतिर फैलनुको कारण:
निर्दोष जीवन सादा जीवनशैली अपनाउन रुचाउने व्यक्तित्व हुन् । उनी प्रेम दिन पनि तयार छन् र प्रेम पाउन पनि । कोमल हृदयका भावुक प्रवृत्तिका उनी आफ्नी मायालुलाई यसरी सम्बोधन गर्छन् :
म फूल तिमी निर्मल पानी भैदिनु
तिमी सधैं यो आँखाको नानी भैदिनु
प्रेमको यो दुनियाँमा सधैंभरि राज गर्ने
म राजा तिमी मेरी रानी भैदिनु
(पृष्ठ १, मुक्तक २)
देशको वर्तमान अवस्था—राजनीतिक अस्थिरता, उद्योग–व्यवसायको अभाव, बेरोजगारी आदिका कारण युवाहरू विदेशिन बाध्य छन् । यसले परिवार र समाजमा गहिरो असर पारेको छ :
यसपालि पनि चाडबाड आएर गयो
भिडिओमा टीका, आशीर्वाद थापेर गयो
विदेश गएको छोरो वर्षौँपछि घर फर्कियो
बा–आमालाई वृद्धाश्रम राखेर गयो
(पृष्ठ ५, मुक्तक १०)
नेपाली समाजमा लैङ्गिक भूमिका र पारिवारिक असन्तुलनलाई पनि मुक्तकले प्रस्ट पारेको छ :
ढल्या सिन्को उठाउँदैनौँ अनि तिम्रै फुर्ती ठूलो
खेतका डल्ला फुटाउँदैनौँ अनि तिम्रै फुर्ती ठूलो
फेरि किन गर्छौ कचकच, मीठो पकाइनस् भनी
चौरासी व्यञ्जन जुटाउँदैनौँ तिम्रै फुर्ती ठूलो
(पृष्ठ १२, मुक्तक २४)
समाज परिवर्तनको सन्देशसमेत यस सङ्ग्रहमा पाइन्छ :
कति गर्छौ माया–प्रीति, गर देशको कुरा
गर आफ्नै संस्कृति र परिवेशको कुरा
आधुनिक फेसनले समाज पूरै नाङ्गिइसक्यो
त्यसैले त गर आफ्नै भाषा–भेषको कुरा
(पृष्ठ २९, मुक्तक ५८)
जातीय विभेदविरुद्धको आवाज :
श्रम चल्छ, सीप चल्छ, पानी चल्दैन
मान्छेमाथि घृणा गर्ने आत्मा जल्दैन
चुपचाप बस्छौ कति? तिमीले पनि आवाज उठाऊ
मेरो एक्लो प्रयासले रुढीवाद ढल्दैन
(पृष्ठ ३१, मुक्तक ६२)
राष्ट्रिय एकता र सामाजिक चेतना :
दाजुभाइ आपसमा फुट्नुहुँदैन
नेपालीले नेपालीलाई कुट्नुहुँदैन
पीडा खप्न नसकेर आमा रोएकी छिन्
धेरै सुत्यौँ, अब हामी सुत्नुहुँदैन
(पृष्ठ ६२, मुक्तक १२४)
प्रेमिल भाव :
माया गर्ने कोही भए आइदेऊ न बिन्ती
कहिल्यै नछुट्ने प्रीत लाइदेऊ न बिन्ती
एक्लो मेरो जिन्दगीमा साथ दिने कोही भए
कहिल्यै पनि नछाड्ने कसम खाइदेऊ न बिन्ती
(पृष्ठ ७९, मुक्तक १५७)
राजनीतिक व्यङ्ग्य :
आज फेरि नेताज्यूले ढाँट्दै हिँड्नुभयो
देशको विकास गर्ने भाषण छाँट्दै हिँड्नुभयो
सिधासादा जनतालाई मीठो सपना देखाएर
निमुखाको रहर काट्दै हिँड्नुभयो
(पृष्ठ ८६, मुक्तक १७२)
कर्णालीको पीडा :
कहिलेसम्म याचना गर्दै रुनुपर्ने हो?
सधैं उपेक्षित अनागरिक हुनुपर्ने हो?
कहिले आउँछ गाउँमा मोटर, बाटो, बिजुली?
अब कर्णालीलाई विकासले छुनुपर्ने हो
(पृष्ठ ९९, मुक्तक १९८)
निष्कर्ष:
वि.सं. २०६१ मा ‘आशीर्वाद’ नामक कृति प्रकाशनपछि लामो अन्तरालमा आएको ‘प्रेमको सुगन्ध’ ले प्रेम, समाज, राजनीति र मानवीय संवेदनालाई सशक्त रूपमा अभिव्यक्त गरेको छ । यस कृतिको सफलताको कामना गर्दै अन्त्यमा एक मुक्तक :
वाचा कसम टुटी जान्छन्, प्रेमको सुगन्ध रहिरहन्छ
कैयौँ साथ छुटी जान्छन्, प्रेमको सुगन्ध रहिरहन्छ
कहिलेकाहीँ नसोचेको भइदिन्छ हाम्रो जिन्दगीमा
आफ्नैले लुटी जान्छन्, प्रेमको सुगन्ध रहिरहन्छ
(पृष्ठ ७, मुक्तक १४)
“चरैवेति”





