चितवन, १५ वैशाख ।
भरतपुर–१ शहीदचोकमा केन्द्रीय कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ वर्ष २०८३ को अवसर पारेर सेवाकेन्द्र स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

संस्थाको शिक्षा उपसमितिको संयोजनमा मंगलबार नारायणगढस्थित होटल गंगोत्रीको सभाहलमा आयोजित कार्यक्रममा सेयर सदस्यहरूबीच सहकारी शिक्षा तथा समसामयिक विषयमा प्रतिस्पर्धा गराइएको थियो ।
चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडका अध्यक्ष भीष्मप्रसाद खनालको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा प्रधान कार्यालय अन्तर्गतको समूह प्रथम भएको छ । उक्त समूहमा कुलप्रसाद सुवेदी, लेखराम सापकोटा, सबिता भुषाल, वसन्तराज अधिकारी र मंगलराज सिलवाल रहेका थिए । त्यसैगरी, विजयनगर सेवाकेन्द्र अन्तर्गतको समूह द्वितीय भएको छ । उक्त समूहमा सरस्वती शर्मा, मीना परियार, लक्ष्मी पौडेल र शिवचन कार्की सहभागी थिए । विजेता समूहहरूलाई क्रमशः १० हजार र ६ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खनालले चितवनका स्थापित सहकारीहरूमा उल्लेखनीय समस्या नरहेको बताए । यद्यपि, वर्तमान कानुनी जटिलताका कारण बहुउद्देश्यीय सहकारीहरूलाई कारोबारमा केही असहजता भइरहेको उल्लेख गर्दै उनले नीतिगत सुधार आवश्यक रहेको औंल्याए ।
सभाध्यक्ष तथा संस्थाका अध्यक्ष चुकेले सेयर सदस्यहरूको चौतर्फी हित र क्षमता विकासका लागि यस्ता रचनात्मक कार्यक्रम निरन्तर आयोजना हुँदै आएको बताए । उनले सदस्यहरूलाई सहकारीको मर्म बुझाउन र संस्थालाई आगामी दिनमा थप प्रविधिमैत्री तथा सदस्यकेन्द्रित बनाउने योजना प्रस्तुत गरे ।
कार्यक्रमको औचित्य र महत्त्वमाथि प्रकाश पार्दै शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा लेखा समितिका संयोजक गोविन्दप्रसाद पौडेल, सञ्चालक समिति सदस्य प्रा. डा. होमनाथ सापकोटा, तथा सेयर सदस्यहरू लेखराम सापकोटा र कुलप्रसाद सुवेदीलगायतले सहकारीको भूमिकाबारे धारणा राखेका थिए ।
संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटा र शिक्षा उपसमिति सदस्य नेत्रबन्धु पोखरेलले सञ्चालन गरेको उक्त प्रतियोगिताले सदस्यहरूमा सहकारी शिक्षाप्रति थप जागरूकता अभिवृद्धि गरेको बताइएको छ ।





