पोखरा, १३ वैशाख ।
आइतबार परेको औलो नियन्त्रण दिवसका अवसरमा पोखरामा ‘बखान’ उपन्यासमाथि विमर्श गरिएको छ । औलो नियन्त्रण गरी चितवनमा बस्ती विकास गरिएको ऐतिहासिक सन्दर्भ समेटिएको वसन्त पराजुलीको ‘बखान’ उपन्यासको समीक्षा गरिएको हो ।
गुरुङ साहित्यिक मञ्च नेपालद्वारा पोखरास्थित हिमालयन रिडर्स कर्नरमा आयोजित कार्यक्रममा समीक्षक गौरी तमूले औलो नियन्त्रणमार्फत चितवनको बस्ती विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका बखानसिंह गुरुङको जीवनीमा उपन्यास केन्द्रित रहेको बताउनुभयो । उहाँले तथ्य र तथ्याङ्कमा आधारित यस कृतिले नेपालको राजनीतिक यथार्थलाई उजागर गरेको उल्लेख गर्नुभयो । साथै, राज्यसत्ताले आदिवासी जनजातिमाथि लामो समयदेखि गर्दै आएको थिचोमिचोसमेत उपन्यासमा प्रतिबिम्बित भएको उहाँको धारणा थियो ।
कार्यक्रममा प्रा. डा. कुसुमाकर न्यौपानेले ‘बखान’ उपन्यास बखानसिंह गुरुङको दुःखान्त जीवनमा केन्द्रित रहेको बताउनुभयो। कारुणिक भावमा लेखिएको यो कृति वस्तुपरक, अनुसन्धानमूलक तथा यथार्थपरक रहेको उहाँले धारणा राख्नुभयो ।





