मकवानपुर, १४ साउन ।
बागमती प्रदेशकाका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वास मत लिने भएका छन् । एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा दिएपछि बानियाँ अल्पमतमा परेका हुन् ।
कांग्रेसको सत्ता गठबन्धन टुटेसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएर अघि बढ्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय गरेको छ । बिहीबार ललितपुरमा बसेको दलकाे बैठकले वर्तमान सरकारलाई निरन्तरता दिन र समर्थन प्राप्त गर्न अन्य दलहरूसँग छलफल गर्ने समेत निर्णय गरेको छ ।
बैठकले सरकारका लागि आवश्यक अन्य राजनीतिक दलहरूसँग समन्वय र संवाद अगाडि बढाउने निर्णय गरेको संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए । महर्जनका अनुसार प्रदेशमा पछिल्लो पटक उत्पन्न राजनीतिक परिस्थितिकाबिच कांग्रेसले सरकारको निरन्तरताका लागि विश्वासकाे मत लिन उक्त निर्णय गरेको हो। संसदीय दलका नेता समेत रहेका बानियाँको नेतृत्वकाे बैठकले सरकारको निरन्तरताका लागि प्रदेशसभामा रहेका सबै राजनीतिक दलहरूसँग लिखित वा मौखिक संवाद गर्ने जिम्मेवारी बानियाँलाई तोकेकाे छ ।
अहिलेकाे सरकारकाे निरन्तरता वा नयाँ सरकार गठनकाे लागि सहज बहुमत नपुग्ने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेका नेताहरू साना दलहरू फकाउन सक्रिय भएका हुन् । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष तहमा प्रदेशकाे सरकार गठनकाे लागि ३ बुँदे सहमति समेत भएकाे छ ।
काँग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने
प्रदेश सरकार गठनका लागि एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच समीकरणपछि पनि नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी बताइसकेकाे छ ।
पार्टी मुख्यालय सानेपामा नेपाली कांग्रेसका सभापति गगन थापाले सातै प्रदेशका सभापति, संसदीय दलका नेता र मुख्यमन्त्रीसँग परामर्श गर्दै गठबन्धनको प्रयास जारी राख्ने बताए थिए । राजनीतिक समीकरण र दलहरूको संख्या हेरेर सरकार सञ्चालन गर्ने वा प्रतिपक्षमा बस्ने विषयमा थप निर्णय गर्ने विषयमा छलफल भएको थियाे ।
सरकार गठन गर्न ५३ सांसदकाे समर्थन आवश्यक
११० सदस्यीय बागमती प्रदेशसभामा १०४ सदस्य कायम छन् । ६ पद रिक्त रहेकाले हाल १०४ सदस्य कायम छन् । बहुमतका लागि ५३ मत आवश्यक पर्छ ।
प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टीकाे २६, एमालेकाे २५ सदस्य छन् । नयाँ सत्ता समिकरण गर्ने यी दुई दलकाे सदस्य संख्या जोड्दा ५१ हुन्छ । सरकार गठनकाे लागि दुई सदस्य पुग्दैन । यसैगरी प्रदेशसभामा कांग्रेसकाे ३६ सदस्य रहेकाे छ । राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।
साउन ६ गते नेकपा एमालेका ६ जना मन्त्रीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाए र प्रदेश प्रमुख समक्ष सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको जानकारी गराए । यो सँगै मुख्यमन्त्री बाँनिया अल्पमतमा परेका छन् भने नयाँ सत्ता समीकरण अनुसार बागमती प्रदेशकाे नेतृत्व एमालेले गर्ने लिखित सहमति भएकाे छ ।





