काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रहरीले पक्राउ गरेको र समाचार कक्षमै पुगेर खोजतलास गरेको घटनाको चौतर्फी विरोध भएपछि पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्।
शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका पत्रकार शोभाराज बराल र डीएनए खबरका प्रधानसम्पादक धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो। घटनापछि प्रधानमन्त्री बालेन शाहले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न निर्देशन दिएका थिए।
प्रहरीले नेपाल प्रेसको नयाँ बानेश्वरस्थित कार्यालयबाट सुवेदीलाई नियन्त्रणमा लिएर साइबर ब्युरो पुर्याएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित प्रकाशित समाचारका विषयमा सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।
त्यस्तै, सादा पोसाकका प्रहरी नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई खोज्दै पुतलीसडकस्थित कार्यालय पुगेका थिए। दियो पोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई खोज्दै प्रहरी अनामनगरस्थित कार्यालय पुगेको थियो।
पत्रकार पक्राउ र समाचार कक्षमा प्रहरी प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको थियो। महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारलाई कार्यस्थलबाटै नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिँदै यस्ता गतिविधि तत्काल रोक्न माग गरेका थिए।
यस्तै प्रेस काउन्सिल नेपालले पनि आकस्मिक बैठक बसेर घटनाप्रति गम्भीर आपत्ति जनाएको थियो। काउन्सिलले पत्रकार पक्राउको कानुनी आधार, पक्राउ पुर्जी र अदालतको अनुमतिबारे स्पष्ट जानकारी नभएको भन्दै समाचारसम्बन्धी उजुरीमा स्थापित कानुनी प्रक्रिया अपनाउन आग्रह गरेको थियो।
घटनाको नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि तथा नेपाल बार एसोसिएसनका अध्यक्षले समेत विरोध गरेका थिए।
चौतर्फी विरोधपछि प्रधानमन्त्री शाहले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र समाचार कक्षमा प्रवेश गरेर धरपकड नगर्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीका सञ्चार तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउबारे प्रधानमन्त्री कार्यालयलाई पूर्वजानकारी नभएको बताएकी थिइन्।
प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। घटनाले समाचार प्रकाशनसम्बन्धी विवादको अनुसन्धान प्रक्रिया, पत्रकारको पेसागत सुरक्षा र प्रेस स्वतन्त्रताको विषयमा प्रश्न उठाएको छ।





