चितवन, १३ कात्तिक ।
साहित्यिक व्यक्तित्व रुद्र कँडेलको जन्मदिनको अवसरमा चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई साहित्यिक पत्रिका ‘मुना’ र ‘युवामञ्च’ उपलब्ध गराइएको छ ।
हाल रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहनुभएका कँडेलले जन्मदिनमा केही रचनात्मक काम गरौं भन्ने योजनाअनुसार आफ्नो तर्फबाट आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई पढ्ने सामग्री उपलब्ध गराउनुभएको हो ।
सम्पूर्ण किताब नारायणगढको समन्वयमा कँडेलका दाजु प्रेमलाल कँडेलमार्फत विद्यालयमा पुगेर विद्यार्थीलाई पत्रिका हस्तान्तरण गरिएको हो । त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक सोमनाथ तिवारीसहित शिक्षकहरूसँग पठन संस्कृतिको विकास र विद्यार्थीको बौद्धिक तथा सिर्जनात्मक क्षमता अभिवृद्धिमा पठन सामग्रीको भूमिकाबारे छलफल गरिएको थियो ।
‘मुना’ र ‘युवामञ्च’ देख्दा शिक्षकहरूले आफ्ना पुराना दिन सम्झनुभएको थियो । यस्ता पत्रपत्रिकाले विद्यार्थीको ज्ञान, सिर्जनशीलता र पठन रुचि विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षकहरूको भनाइ थियो ।
सम्पूर्ण किताब नारायणगढले सञ्चालन गर्दै आएको पठन संस्कृति अभियानको यो नियमित शृङ्खला हो । अभियानले विद्यार्थीमा पढ्ने बानीको विकास गर्न विद्यालयस्तरबाटै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ ।
पठन संस्कृतिको विकास पुस्तक पसल वा साहित्यिक संस्थाको प्रयासले मात्र सम्भव नहुने भएकाले विद्यालय, शिक्षक र अभिभावक पनि यसमा उत्तिकै जिम्मेवार हुनुपर्ने अभियानका संयोजक लेखराम सापकोटाको भनाइ छ । विद्यालयमा नियमित पठन गतिविधि सञ्चालन गर्ने, विद्यार्थीलाई पाठ्यपुस्तकबाहिरका सामग्री पढ्न प्रोत्साहित गर्ने र घरमा पनि पढ्ने वातावरण बनाउने हो भने बालबालिकामा पढ्ने बानीको विकास गर्न सकिने उहाँको विश्वास छ ।
पठन संस्कृतिको विकासका लागि विद्यालय, शिक्षक, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको अभियानले जनाएको छ ।





