हेटौँडा, १३ वैशाख ।
भैरव अर्याल स्मृति साहित्य सम्मान–२०८२ साहित्यकार प्रोल्लास सिन्धुलीयलाई प्रदान गरिएको छ ।
हेटौँडा–४ स्थित पुष्पलाल स्मृति पुस्तकालयमा आयोजित कार्यक्रममा सिन्धुलीका साहित्यकार सिन्धुलीयलाई २१ हजार १ सय ११ रुपैयाँ नगदसहित उक्त सम्मान प्रदान गरिएको हो ।
हरेक वर्ष साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले संयुक्त रूपमा प्रदान गर्दै आएको यो सम्मान भैरव अर्यालकै जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ लेखन तथा नेपाली वाङ्मयमा पुर्याएको योगदानको कदरस्वरूप सिन्धुलीयलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।
वि.सं. २०३२ साल वैशाख ७ गते सिन्धुली जिल्लाको गैयाटारमा जन्मिएका सिन्धुलीयका पिता उमानाथ शास्त्री सिन्धुलीय र माता लालित्यलक्ष्मी शर्मा हुन् । उनले निरन्तर रूपमा नेपाली साहित्य लेखन, सम्पादनलगायतका क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् ।
उनका ‘बाहिर एक मुठ्ठी तुसारो छ’, ‘शब्दहरूको नेपथ्य’, ‘चुपचापको अन्त्य’ लगायत कविता सङ्ग्रह प्रकाशित छन् । कविताबाहेक कथा, लघुकथा, उपन्यास, निबन्ध र यात्रा–संस्मरणका दर्जनौँ कृति पनि प्रकाशनमा आएका छन् । ‘कथालिका’, ‘सेतो कागज’ लगायत साहित्यिक पत्रिकामा सम्पादकका रूपमा काम गरिसकेका सिन्धुलीय हाल ‘नयाँ पत्रिका’ दैनिकमा उपसम्पादकका रूपमा कार्यरत छन् ।
साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार स्नेह सायमी र लक्ष्मी मालीले आफ्ना कृतिहरू पुष्पलाल स्मृति पुस्तकालयलाई हस्तान्तरण गरेका थिए ।





