वैदिक ज्योतिषशास्त्र ‘ज्योति’ अर्थात् प्रकाशको विज्ञान हो । जसले ग्रह नक्षत्रको प्रभावद्वारा मानव जीवनको मार्गदर्शन गर्दछ । यस शास्त्रमा चन्द्रमालाई मन, भावना र मानसिक स्थिरताको कारक मानिन्छ । त्यसैले चन्द्रमासँग सम्बन्धित योगहरूलाई ‘चान्द्रयोग’ भनिन्छ । ज्योतिषशास्त्रमा यो योगलाई अशुभ योग मानिएको पाइन्छ ।
केमद्रुम शब्द दुई भागबाट बनेको छ । ‘के’ अर्थात् शून्य र ‘द्रुम’ अर्थात् वृक्ष । यसले फलफूलविहीन, आधारविहीन अवस्थाको वृक्षलाई जनाउँछ । जब चन्द्रमाको द्वितीय (२) र द्वादश (१२) भावमा कुनै ग्रह हुँदैनन्, तब केमद्रुम योग बन्छ । द्वितीय भाव जीवनको सहारा, वाणी हो भने द्वादश भाव त्याग, अन्त्य र आन्तरिक संसारको सूचक हो । यी दुवै स्थान खाली हुँदा चन्द्रमाले न त अगाडिबाट सहयोग पाउँछ, न त पछाडिबाट आधार पाउँछ । यसैले गर्दा मानसिक एकाकीपन उत्पन्न हुन सक्छ ।
चान्द्र योगको गणनामा सूर्यलाई समावेश नगरिनुको कारण पनि विशेष छ । सूर्य आत्मा र तेजको प्रतीक हो, जसको प्रभाव अत्यन्त प्रवल हुन्छ । यसले चन्द्रको कोमलता र ग्रहणशीलतालाई सन्तुलन दिनुभन्दा दबाउने सम्भावना बढी हुन्छ । त्यसैले मनको स्थिरता मूल्याङ्कन गर्दा सूर्यलाई अलग राखिन्छ । जसरी एउटा परिवार एक्लै बस्दा समाजमा छिमेकको अभाव हुन्छ । त्यस्तै योग हो केमद्रुम योग । केमद्रुम योग यदि केन्द्रवर्ती भएर बनेको छ भने वा वृषराशिको चन्द्रमा छ भने केमद्रुमले शुभफल दिन्छ वा नराम्रो प्रभाव पार्दैन । केमद्रुम योग बन्नका लागि चन्द्रग्रह बलहीन हुनैपर्छ किनकी यो योगले मानसिक समस्या मन पक्ष कमजोर बनाउँछ । यदि पूर्णचन्द्रमा छ भने यो योग भङ्ग हुन्छ । ज्योतिषशास्त्रानुसार वास्तविक केमद्रुम योग यस प्रकार रहेको छ :-
क्षीण चन्द्रमासँग वृश्चिक राशिमा तमग्रहद्वारा चन्द्रग्रहण लगाएर त्रिक् भावमा बसेको छ भने मात्र पूर्ण केमद्रुम योगको सिर्जना हुन्छ । जसले मानसिक समस्या, निर्धनत्व, अरूको दासी (नोकरी कर्म) बन्नुपर्नेजस्ता अशुभ फल प्रदान गर्छ । विशेषत: चन्द्रग्रह त्रिक् भावमा बसेर राहुकेतुद्वारा ग्रहण लगाएका छन् भने केमद्रुम योगको धेरै अशुभ फल प्राप्त हुन्छ । जीवनाथले ‘भावकुतूहलम्’ ग्रन्थमा व्याख्या गर्नु भएको छ :-
न धने न व्यये खेटाश्चश्चन्द्रादिह भवन्ति हि ।
तदा केमद्रुमं प्राहुः पण्डिता मिहिरादयः ।।
केमद्रुमको फल
केमद्रुमे मलिनदुःखितनीचनिस्स्वः ।
प्रेष्यः खलश्च नृपतेरपि वंशशजातः ।।
यदि केमद्रुम योगमा उत्त्पन्न भएको जातक मलिक कर्म गर्ने, दुःखी, अशुभ कार्यमा रमाउने, धनद्वारा रहित हुनेपर्नेजस्ता फल पाइन्छ भनेर वराह मिहिराचार्यले व्याख्या गर्नुभएको पाइन्छ । सर्वप्रथम त योग निर्माण हुनका लागि चन्द्रमा क्षीण भएर अशुभ प्रभाव बनाएर पापकर्तरीजस्तो अशुभ योग निर्माण भएको छ भने मात्र विशेष यो योगको प्रभाव रहन्छ ।
केमद्रुम योग भङ्गको प्रकारहरू यस प्रकार रहेका छन् :-
चन्द्रमा केन्द्रमा हुनु,
चन्द्रमासँग अन्य ग्रहको युति हुनु,
गुरु वा शुक्रको दृष्टि पर्नु,
लग्नेश बलियो भएर चन्द्रमा पनि बलियो हुनु,
गुरु केन्द्रमा सशक्त हुनु,
चन्द्रमा उच्च वा स्वराशिमा हुनु,
अन्य राजयोगको निर्माण हुनु,
नवांशमा चन्द्रमा बलियो हुनु,
चन्द्रमाबाट केन्द्रमा ग्रह हुनु ।
केमद्रुम योगले जीवनमा दु:ख र कष्ट मात्र दिन्छ भन्ने होइन ग्रहको बलको विचारद्वारा, चिन्तनद्वारा शुभाशुभ फलको विचार गर्न आवश्यक छ ।
(लेखक वेद वेदाङ्ग संस्कृत विद्यापीठ देवघाटधाममा अध्ययनरत हुनुहुन्छ ।)





