रत्ननगर, ६ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रत्ननगर नगर सभापति पदमा युवा नेता उमेश गिरीले उम्मेदवारी घोषणा गरेका छन् ।
रत्ननगर–३ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित गिरी हाल नेपाली कांग्रेस क्षेत्रीय सचिवका रूपमा सक्रिय छन् । युवा पुस्ताको सशक्त प्रतिनिधित्व, संगठनको सुदृढीकरण र पार्टीलाई समयसापेक्ष रूपान्तरण गर्ने एजेन्डासहित उनले नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
लामो समयदेखि पार्टीको सांगठनिक गतिविधि, भ्रातृ संस्था परिचालन तथा वैचारिक अभियानमा सक्रिय गिरीले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई सशक्त, एकताबद्ध र प्रविधिमैत्री बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
सामाजिक सेवा र व्यवसायमा समेत सक्रिय गिरी नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य हुन् । उनले फाइनान्समा स्नातकोत्तर गरेका छन् । रत्ननगर जेसीज र लायन्स क्लब अफ चितवन राइनो सिटीका पूर्वअध्यक्ष रहेका गिरी रत्ननगर उद्योग वाणिज्य संघका पूर्वसदस्यसमेत हुन् । विभिन्न मठमन्दिर तथा सामाजिक संघसंस्थामा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
गिरीले पार्टीको नगर सदस्य, क्षेत्रीय सदस्य, प्रवक्ता हुँदै क्षेत्रीय सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत गिरीले आफ्नो नेतृत्वमा उम्मेदवारहरूको टिमसमेत घोषणा गरेका छन् । उनको टिमबाट खुला उपसभापतिमा हरि लामिछाने, महिला उपसभापतिमा शरला रेग्मी, सचिवमा सुरेशजंग पाण्डे र सहसचिवमा सुशीला चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।
संविधानसभा सदस्य सावित्रीदेवी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा रत्ननगरका मेयर तथा नगर सभापति प्रलाद सापकोटा, कांग्रेस नेता किरण भूषण ओली, राजुप्रसाद सिलवाल र वडा सभापति ईश्वरप्रसाद खनालले मन्तव्य राखेका थिए । कार्यक्रम नगर सचिव अनिता अर्यालले सञ्चालन गरेकी थिइन् ।





