चितवन, ५ असोज ।
उद्योग दर्ता तथा नवीकरणका लागि अब कार्यालय धाएर लाइन बस्नुपर्ने बाध्यता हटेको छ । उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय चितवनले उद्योग दर्ता र नवीकरणको सेवा अनलाइनबाटै सुरु गरेपछि सेवाग्राहीले घरबाटै आवश्यक विवरण तथा कागजात पेस गरी सेवा लिन सक्ने भएका छन् ।
अनलाइन सेवा सुरु भएपछि उद्योगी–व्यवसायीको समय र खर्च बचत हुने अपेक्षा गरिएको छ । साथै, कार्यालयको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनसमेत सहयोग पुग्ने कार्यालयले जनाएको छ ।
भरतपुर महानगरपालिका–६ का अनिश श्रेष्ठले घरबाटै अनलाइनमार्फत आफ्नो ‘जाम फुड्स’ मम उद्योगको दर्ता प्रक्रिया पूरा गर्नुभएको छ । अनलाइन सेवा सुरु भएपछि कार्यालय धाउनुपर्ने, लाइन बस्नुपर्ने र कागजात बुझाउनुपर्ने झन्झट हटेको उहाँले बताउनुभयो ।
“घरबाटै काम गर्न सकियो। पहिले जस्तो कार्यालय धाउनुपर्ने र झन्झट व्यहोर्नुपर्ने अवस्था रहेन,” श्रेष्ठले भन्नुभयो ।
कार्यालयका प्रमुख उद्योग अधिकृत विनोद पौडेलले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन प्रणाली सुरु गरिएको बताउनुभयो ।
“कार्यालयमा आउनुपर्ने समय र खर्च घटाउन अनलाइन प्रणाली प्रभावकारी हुने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो ।
कार्यालयका अनुसार चितवनमा हाल करिब १७ हजार उद्योग दर्ता छन् । तीमध्ये करिब १३ हजार उद्योग नवीकरण हुने गरेका छन्। यस्तै, वाणिज्यतर्फ करिब २३ हजार फर्म दर्ता भएका छन् ।
कार्यालयले आगामी दिनमा अनलाइन प्रणालीलाई थप विस्तार गर्दै उद्योगी–व्यवसायीलाई घरबाटै सहज रूपमा सेवा लिन सक्ने वातावरण बनाउने जनाएको छ ।





