१८ वर्षीया कपुरलाई प्रमुख अतिथि बनाएर कांग्रेसको ‘युवा सन्देश’

चितवन, ५ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन चलिरहेका बेला भरतपुर महानगरपालिका–७ ले युवा पुस्ताको सहभागितालाई प्राथमिकता दिँदै १८ वर्षीया कपुर आचार्यलाई प्रमुख अतिथि बनाएर अधिवेशन उद्घाटन गरेको छ ।

असोज ३ र ४ गतेका लागि तय गरिएको वडा अधिवेशनअन्तर्गत देशभर वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया अघि बढेको छ । कांग्रेसको निर्वाचन कार्यक्रमअनुसार पहिलो चरणमा असोज ३ गते ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भएको थियो भने बाँकी जिल्लामा असोज ४ गते अधिवेशन गरिएको जनाइएको छ ।

यही क्रममा भरतपुर–७ ले परम्परागत शैलीभन्दा फरक अभ्यास गर्दै क्रियाशील सदस्यता भेला तथा वडा अधिवेशनमा १८ वर्षीया आचार्यलाई प्रमुख अतिथि बनाएको हो ।

वडा सभापति विनोद ढकालका अनुसार पार्टीको विशेष महाधिवेशनबाट पारित विधानको भावना तथा पुस्तान्तरण र युवाको सहभागितासम्बन्धी बहसलाई आत्मसात् गर्दै कम उमेरकी क्रियाशील सदस्यलाई प्रमुख अतिथि बनाइएको हो ।

वडा कार्यसमितिको निर्णयअनुसार युवा पुस्तालाई अवसर र जिम्मेवारी दिने उद्देश्यले आचार्यलाई प्रमुख अतिथि बनाइएको ढकालले बताए । पार्टीभित्र नयाँ पुस्ताको सहभागिता बढाउन यस्ता अभ्यासले सकारात्मक सन्देश दिने उनको भनाइ छ ।

प्रमुख अतिथि आचार्यले आफ्नो पुस्तालाई कार्यक्रममा महत्वपूर्ण स्थान दिएकोमा वडा कार्यसमितिप्रति आभार व्यक्त गरिन् । उनले जेन्जी पुस्ता केवल प्रश्न गर्ने पुस्तामात्र नभई समस्या समाधानका लागि अग्रज पुस्तासँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताइन् ।

युवालाई अवसरसँगै जिम्मेवारी पनि दिनुपर्नेमा जोड दिँदै उनले आफ्नो जीवनकै पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा अवसर पाउँदा आफू र आफ्नो पुस्तामा थप उत्साह पैदा भएको बताइन् । उनले आगामी दिनमा अध्ययनसँगै समाज र पार्टीका सकारात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

अधिवेशनले दीपेन्द्रराज पौडेललाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको छ । पौडेलको नेतृत्वमा दुई उपसभापति, एक सचिव र एक सहसचिवसहित २३ सदस्यीय वडा कार्यसमिति चयन गरिएको जनाइएको छ ।

त्यस्तै, समावेशी सिद्धान्तका आधारमा वडाबाट प्रतिनिधित्व गर्ने ६८ जना क्षेत्रीय प्रतिनिधिसमेत पहल समितिको समन्वयमा चयन गरिएको बताइएको छ ।

कार्यक्रम वडा सचिव कल्याण कुसुम कँडेलले सञ्चालन गरेका थिए भने वडा सभापति विनोद ढकालले अध्यक्षता गरेका थिए ।

प्रमुख अतिथि बनाइए पनि प्रतिनिधिको सूचीमा परिनन्

युवा पुस्ताको सहभागिताको सन्देश दिन अधिवेशनको प्रमुख अतिथि बनाइएकी १८ वर्षीया आचार्य भने ३५ वर्षसम्मका युवाबाट प्रतिनिधित्व हुने क्लस्टरबाट चयन हुने आठ जना क्षेत्रीय प्रतिनिधिको सूचीमा समेटिन सकिनन् ।

एकातर्फ १८ वर्षीया युवतीलाई वडा अधिवेशनको प्रमुख अतिथिका रूपमा सम्मान गरिएको छ भने अर्कोतर्फ युवाका लागि छुट्याइएको प्रतिनिधित्वको सूचीमा उनको नाम अटाउन सकेन । यसले कांग्रेसभित्र युवा पुस्तालाई अवसर र जिम्मेवारी दिने विषयमा भइरहेका अभ्यास र त्यसको कार्यान्वयनबीचको अन्तरलाई समेत देखाएको छ ।

यद्यपि, आचार्यले आफूलाई दिइएको अवसरलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा अध्ययनसँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library