प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान, राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

काठमाडौं, ६ असोज ।
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहलाई विदाइ गर्न गृहमन्त्री सुधन गुरुङ, पर्यटनमन्त्री गनेस पौडेललगायत विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री शाह नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क गएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी सेप्टेम्बर २४ अर्थात् असोज ८ गते संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन् । त्यस क्रममा नेपालले जलवायु परिवर्तन, जलवायुजन्य विपद् र त्यसबाट नेपालले व्यहोर्नुपरेको जनधनको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ ।

विशेषगरी हालैको भोटेकोशी बाढीबाट भएको ठूलो क्षति, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिम तथा न्यून कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले भोगिरहेको जलवायु संकटलाई प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चमा उठाउने बताइएको छ । नेपालले जलवायु न्याय तथा जलवायुजन्य क्षतिका लागि अन्तर्राष्ट्रिय सहयोग र क्षतिपूर्तिको विषयसमेत अघि बढाउने तयारी गरेको छ ।

प्रधानमन्त्री शाहले न्यूयोर्कमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । उपलब्ध कार्यतालिकाअनुसार महासभामा सम्बोधन र महासचिवसँगको भेटबाहेक अन्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भने समय अभावका कारण नराखिएको अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्रीको भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी छन् । परराष्ट्रमन्त्री खनाल भने प्रधानमन्त्री शाहअघि नै न्यूयोर्क पुगिसकेका छन् ।

यो प्रधानमन्त्री शाहको प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण हो । मन्त्रिपरिषद्ले यसअघि असोज ६ देखि १० गतेसम्मको भ्रमण स्वीकृत गरेको थियो । पछिल्लो परराष्ट्र मन्त्रालयको औपचारिक सूचनाअनुसार प्रधानमन्त्री शाह सेप्टेम्बर २६ अर्थात् असोज १० गते काठमाडौं फर्कने कार्यक्रम छ । यसअनुसार उनी करिब पाँच दिन अमेरिका बस्नेछन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री शाहले अमेरिका प्रस्थान गर्नुअघि वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

यस भ्रमणलाई सरकारले नेपालका जलवायु तथा हिमाली सरोकारलाई विश्व मञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा अघि सारेको छ । प्रधानमन्त्री शाहको मुख्य औपचारिक कार्यक्रम भने सेप्टेम्बर २४ को संयुक्त राष्ट्रसंघ महासभा सम्बोधन रहनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library