पोखरा, १३ वैशाख ।
लेखक, पत्रकार वसन्त पराजुलीको `बखान´ उपन्यासमाथि पोखरा र स्याङ्जामा विमर्श गरिएको छ ।
गुरुङ साहित्यिक मञ्च नेपालले हिमालयन रिडर्स कर्नर पोखरामा गरेको कार्यक्रममा प्राडा कुसुमाकर न्यौपाने र गौरी तमूले टिप्पणी गरेका थिए । वक्ता न्यौपानेले बखानसिंह गुरुङको दुखान्त जीवनको कथा उपन्यासमा उल्लेख भएको बताए । कारुणिक भावमा लेखिएको यो उपन्यास वस्तुपरक, यथार्थपरक र अनुसन्धानमुलक भएको न्यौपानेले बताए ।
समीक्षक गौरी तमूले बखान उपन्यास तथ्य र तथ्याङ्कमा आधारित भएको बताइन् । राज्यसत्ताले आदिवासी जनजातिलाई पहिल्यैदेखि थिचोमिचो गरेको पनि उनले बताइन् । त्यसैगरी पाठकीय टिप्पणी राख्दै माया गुरुङले बखान उपन्यासमा गुरुङ जातिको जनजीवन समेटिएको बताइन् । गुरुङ जातिको सामाजिक संस्कार, तनहुँ र चितवनको राजनीतिक आन्दोलन साथै चितवनको वस्ती विकासलाई लेखक पराजुली बखानमा उठान गरेको बताइन् ।
त्यसैगरी बैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाले आइतबार नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट वालिङ बजारमा विमर्श कार्यक्रम गरेको छ ।
उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित छ, जसमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा चित्रण गरिएको छ ।
पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक मिलन समीरले बखान उपन्यास बखानसिंह गुरुङको जीवनीसँगसँगै एउटा इतिहासको कालखण्ड भएको बताए । `बखानमा सात सालको क्रान्तिको कथा, त्यो बेलाको जीवनको तस्वीर, सहकारीसँग सम्बन्धित विषयका साथै चितवनको परिवेश समेटिएको छ´ समीरले भने – `चितवनको बस्ती विकासको इतिहास, नेपाली कांग्रेसको इतिहासका साथै पर्यावरणीय चेतसमेत उपन्यासमा केलाइएको छ ।´
कार्यक्रममा उपन्यासकार पराजुलीले आफूले ऐतिहासिक घटनाक्रमलाई जोखिम उठाएर उपन्यास तयार पारेको बताए । चितवनको बस्ती विकास, सहकारी स्थापना र चितवनको राजनीतिमा बखानसिंह गुरुङले पुर्याएको योगदानलाई आफूले उपन्यासमा उतारेको पराजुलीले बताए ।
कार्यक्रममा नेपाल शिक्षक सङ्गठनका पूर्व केन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह गुरुङको योगदानको चर्चा गर्दै बखानसिंहलाई पुस्तकमा उतार्ने काम गरेकोमा लेखक पराजुलीलाई धन्यवाद दिए ।
कार्यक्रमलाई कवि, निबन्धकार शम्भु अर्यालले सहजीकरण गरेका थिए । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष रहेका पराजुलीका यसअघि `कुमाता´, `मोम्चो´ र `ड्रीमी आइज´ कथासङ्ग्रह प्रकाशित छन् ।





