पारिजात स्मृति दिवस : चितवनमा तीनजना स्रष्टा सम्मानित

भरतपुर, १२ वैशाख ।
साहित्य सङ्गम चितवनको आयोजनामा ३३औँ पारिजात स्मृति दिवसका अवसरमा भरतपुरस्थित नारायणी माध्यमिक विद्यालयमा साहित्य तथा कला क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका तीनजना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा खड्गनारायण गणेश–लक्ष्मी श्रेष्ठ स्मृति राष्ट्रिय नारी प्रतिभा पुरस्कार २०८२ झापाकी भवानी क्षेत्रीलाई, नेत्रमाया–मुक्तिनाथ भट्टराई स्मृति राष्ट्रिय पुरस्कार २०८२ पाल्पाका आर.बी. निश्चललाई तथा गजाधर–ढिकुरीदेवी चेतकान्त चापागाईं स्मृति राष्ट्रिय पुरस्कार २०८२ चितवनका रेवतीरमण खनाललाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।

संस्थाका सदस्य सञ्जीव पौडेलले सम्मानित तीनै साहित्यिक व्यक्तित्वहरूको योगदानबारे विस्तृत जानकारी गराएका थिए । सम्मानित स्रष्टाहरूले यस्तो सम्मानले आफूहरूमा थप जिम्मेवारी र सिर्जनात्मक ऊर्जा थपिएको धारणा व्यक्त गरे ।
साहित्य सङ्गम चितवनका अध्यक्ष शशिकिरण रेग्मी (रह शर्मा)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाश चापागाईंले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमको सुरुवातमा डी.आर. पोखरेलले पारिजातको जीवनीबारे प्रकाश पारेका थिए भने पुरस्कारदाताको तर्फबाट रामहरि श्रेष्ठले जानकारी प्रस्तुत गरेका थिए ।

यस अवसरमा भरतपुर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालले उपस्थित साहित्यकारहरूको तर्फबाट पुरस्कृत श्रष्टाहरूलाई बधाई ज्ञापन गरे । वरिष्ठ साहित्यकार कुन्ता शर्माले ‘धातु कविता’ वाचनसहित मन्तव्य राखेका थिए ।

कार्यक्रमको अन्त्यमा डा. धनेश्वर भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए । करिब १०० भन्दा बढी साहित्यकारहरूको सहभागिता रहेको कार्यक्रम संस्थाका सचिव लीलाधर पौडेलले सञ्चालन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट