भरतपुर, १५ वैशाख ।
अटोमोबाइल क्षेत्रप्रति रुचि राख्नेहरूका लागि चितवनमा ‘चितवन अटो सो २०२६’ आयोजना हुने भएको छ । चितवन अटोमोवाईल्स एशोसिएसन र चितवन अटोमोवाईल्स डिलर एशोसिएसनको संयुक्त आयोजनामा हुने उक्त अटो सो वैशाख १७ गतेदेखि २१ गतेसम्म (अप्रिल ३० देखि मे ४ सम्म) सञ्चालन हुने आयोजकले जनाएको छ ।
अटो सोमा कार, जिप, भ्यान, मोटरसाइकल, स्कुटर लगायत विभिन्न सवारी साधनका नयाँ मोडलहरू तथा स्पेयर पार्ट्सहरूको अवलोकन र खरिदको सुविधा उपलब्ध गराइनेछ । अटो क्षेत्रका नवीनतम प्रविधि, डिजाइन र सेवासम्बन्धी जानकारी एकै थलोमा पाउने अवसर मिल्ने विश्वास आयोजकले लिएको छ ।
कार्यक्रमका प्रवर्धकका रूपमा भरतपुर महानगरपालिका, चितवन उद्योग वाणिज्य संघ र चितवन उद्योग संघ रहेका छन् ।
त्यस्तै, मुख्य प्रायोजकमा Mahindra र Agni Group, सह-प्रायोजकमा MG -100 तथा लुब्रिकेन्ट पार्टनरका रूपमा Shell रहेका छन् ।
भरतपुरस्थित चितवन उद्योग संघ परिसर, दूरसञ्चार रोडमा आयोजना हुने अटो सोलाई चितवनकै गौरवको रूपमा स्थापित गर्ने लक्ष्यसहित भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।





