चितवन, १६ वैशाख ।
बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि चितवनका खेलाडीहरूलाई पहिलो पटक बन्द प्रशिक्षण सुरु गरिएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले बुधबारदेखि उक्त प्रशिक्षण सञ्चालनमा ल्याएको हो ।
बैशाख २५ गतेसम्म सञ्चालन हुने बन्द प्रशिक्षणको उद्घाटन एक कार्यक्रमका बीच गरिएको छ । प्रशिक्षणमा खेलाडी र टिम व्यवस्थापकसहित कुल १०१ जना सहभागी छन् । जसअनुसार कराते र तेक्वान्दोका १२/१२, कबड्डी र भलिबलतर्फ महिला तथा पुरुष गरी ९/९ जना, तथा एथलेटिक्सका २२ खेलाडी समावेश छन् । साथै १० जना प्रशिक्षक, ५ जना व्यवस्थापक र ४ जना टोली प्रमुख तथा उपप्रमुख सहभागी रहेका छन् ।
समितिका कार्यालय सचिव रामजी ढकालले उक्त जानकारी दिएका हुन् । जिल्ला खेलकुद विकास समितिले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डलाई लक्षित गर्दै पहिलो पटक यस्तो बन्द प्रशिक्षण आयोजना गरेको हो ।
समितिका अध्यक्ष राजन कार्कीका अनुसार खेलाडीहरूको मनोबल उच्च बनाउन र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्न प्रशिक्षण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
उनले चितवनका खेलाडीहरू केवल सहभागितामै सीमित नभई पदक जित्ने लक्ष्यका साथ प्रतियोगितामा उत्रने बताए । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य कृष्णबहादुर नेपाल ‘सुजन’ले समितिको यस पहलको प्रशंसा गरेका छन् ।
पूर्व प्रशिक्षक कान्ति महतोले पनि पहिलो पटक गरिएको यस्तो प्रशिक्षणले खेलाडीहरूलाई ठूलो प्रतियोगिताअघि तयारी गर्न र आत्मबल बढाउन मद्दत पुग्ने बताइन् । सहभागी खेलाडीहरूले समेत प्रशिक्षणले आफ्नो प्रदर्शनमा निखार ल्याउने विश्वास व्यक्त गरेका छन् ।
बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ ।





