चेपाङ पहिचानका लागि छुट्टै स्थानीय तहको माग : झारालाङ र रोराङ गाउँपालिका बनाउन दबाब

मकवानपुर, १८ वैशाख ।
चेपाङ बाहुल्य क्षेत्र समेटेर झारालाङ र रोराङ गाउँपालिका गठन गर्न माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाइएको छ ।
हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाल चेपाङ संघका प्रतिनिधिहरूले चेपाङ बसोबास रहेका क्षेत्रलाई समेटेर दुई छुट्टै गाउँपालिका निर्माण गर्न माग गरेका हुन् ।

नेपाल चेपाङ संघ केन्द्रीय कार्यकारिणी समितिले चेपाङ समुदायको पहिचान संरक्षण हुने गरी धादिङ र चितवनका क्षेत्र समेटेर दुई स्थानीय तह पुनर्संरचना गर्नुपर्ने मागसहित बुधबार ज्ञापनपत्र बुझाएको हो ।

संघका अनुसार चेपाङ भाषाको संरक्षण र सांस्कृतिक पहिचान मजबुत बनाउन झारालाङ र रोराङ नामाकरणसहित स्थानीय तह पुनर्संरचना आवश्यक रहेको छ । संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, महासचिव सन्तबहादुर चेपाङलगायतको टोलीले चितवन र धादिङका चेपाङ बाहुल्य वडाहरू समेटेर छुट्टै स्थानीय तह गठन गर्न प्रस्ताव गरेका छन् ।

प्रस्तावअनुसार चितवनको इच्छाकामना गाउँपालिका–१ र २, कालिका नगरपालिका–१० र ११ तथा राप्ती नगरपालिका–१०, ११, १२ र १३ समेटेर झारालाङ गाउँपालिका बनाउन माग गरिएको छ ।
त्यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१, २, ६, ८, ९ र १० तथा गजुरी गाउँपालिका–३ र ४ समेटेर रोराङ गाउँपालिका गठन गर्न आग्रह गरिएको छ । साथै, मकवानपुरको राक्सिराङ गाउँपालिका अन्य स्थानीय तहमा गाभिने अवस्था आएमा चेपाङ भाषामा रहेको नाम यथावत राख्नुपर्ने माग पनि गरिएको छ ।

यसैगरी, नेपालको संविधान २०७२ को धारा ५६(५) बमोजिम चितवन, मकवानपुर, धादिङ र गोरखाका चेपाङ बाहुल्य क्षेत्रमा “चेपाङ संरक्षित क्षेत्र” घोषणा गर्नुपर्ने माग पनि संघले अघि सारेको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले चेपाङ समुदायको विशेष पर्वमा सार्वजनिक बिदा दिँदै आएको उल्लेख गर्दै स्थानीय तहसँग समन्वय गरी समुदायको हितमा आवश्यक पहल गर्ने बताए ।

२०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६४ रहेको छ, जसमा ४२ हजार ७५८ पुरुष र ४१ हजार ६०६ महिला छन् । चेपाङ समुदाय झापादेखि कञ्चनपुरसम्मका ३१ जिल्लामा फैलिएको भए पनि सबैभन्दा बढी चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङमा बसोबास गर्छन् । कुल जनसंख्याको करिब ८० प्रतिशत बागमती प्रदेशमै रहेको छ ।

वि.सं. २०३४ सालमा तत्कालीन राजाको निर्देशनपछि चेपाङ समुदायलाई ‘प्रजा’ भनेर सम्बोधन गरिन थालेको ऐतिहासिक तथ्य पनि उल्लेखनीय छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट