आकाशका नक्षत्र पढेर आत्माको अन्तरिक्ष चिन्ने कला

ज्योतिषशास्त्र यो शब्द सुन्नासाथ धेरैको मनमा ग्रह, नक्षत्रको गणना र भविष्यवाणीको मात्र छवि आउँछ । तर त्यो यसको सतही स्वरूप हो । वास्तविकता के हो भने ज्योतिषशास्त्र केवल समयको लेखाजोखा होइन यो चेतना, कर्म र कालको संवाद हो । यो आत्मा र ब्रह्माण्डबीचको सम्बन्ध बुझाउने एक प्राचीन विद्या हो । जसको मूल उद्देश्य भविष्य जान्नु होइन आत्मबोध गर्नु हो । वेदाङ्गहरूमध्ये एक मानिने ज्योतिष ‘कालविद्या’ को रूपमा परिचित छ । यसको माध्यमबाट हामी समयको गणनामात्र होइन समयको गुणात्मक चेतना पनि बुझ्न सक्छौं । वर्ष, मास, तिथि आदि गणना विज्ञानको विषय हो । तर दशा, गोचर, ग्रहयोग जस्ता पक्षहरू कालको सूक्ष्म चेतनात्मक स्पन्दन हुन् जसले कर्मको फल उजागर गर्छन् ।

गुप्त-तत्व के हो भने ग्रहहरू केवल ऊर्जा हुन् । तर तिनीहरूको प्रभाव तपाईंको चेतनाको स्तरअनुसार फरकफरक ढङ्गले प्रकट हुन्छन् । यही बिन्दुबाट अर्थात् फलित ज्योतिषबाट आध्यात्मिक ज्योतिषको यात्रा सुरु हुन्छ । धेरै जसो हामी जन्मकुण्डलीलाई ‘भाग्यको नक्सा’ ठान्छौं । तर शास्त्रीय दृष्टिले हेर्दा यो आत्मामा बन्धित कर्म संवेदनाको प्रतिबिम्ब हो । जन्मको क्षणमा आकाशमा रहेका ग्रहहरूको स्थिति तपाईंको अघिल्ला जन्महरूको कर्मफलको सञ्चय हो । कुण्डली स्थिर हुन्छ तर त्यसबाट उत्पन्न हुने फल तपाईंको चेतना, कर्म र मानसिक स्तरअनुसार परिवर्तनशील हुन्छ । गुप्त-तत्व के हो भने ग्रह स्थिर छन्, तर चेतना चलायमान छ र त्यही चेतना अनुसार ग्रह फलको अर्थ खुल्ने गर्दछन् ।

दशा प्रणाली : दशा भन्नाले ग्रहहरूको प्रभावलाई समयक्रममा बुझाउने प्रणाली हो । विशेष गरी विंशोत्तरी दशा जुन चन्द्रको नक्षत्रमा आधारित हुन्छ । आत्मा र मनको गतिमा ग्रहहरूको ऊर्जा कसरी अभिव्यक्त हुन्छ भन्ने बताउँछ । तर गुप्त कुरा के हो भने दशा स्वतः प्रकट हुँदैन । जब चेतना तयार हुन्छ तबमात्र दशाको फल अनुभूति हुन्छ । त्यही कारणले एउटै दशा दुई व्यक्तिमा फरक रूपमा असर गर्छ । ग्रह त संकेतकमात्र हुन्, तर ती संकेतको अर्थ बुझ्ने क्षमता चेतनाले मात्र दिन सक्छ ।

ग्रहहरू: बाह्य पिण्ड होइनन्, आन्तरिक शक्तिहरू हुन् । शास्त्रीय रूपमा ग्रहहरू केवल खगोलशास्त्रीय पिण्ड होइनन् । ती चेतनाका प्रतीक हुन्, आत्मिक शक्तिका रूप हुन् । जस्तै:-

सूर्य: आत्मा
चन्द्र: मन
मंगल: साहस/इच्छाशक्ति
बुध: विवेक
शुक्र: रस/आकर्षण
गुरु: ज्ञान/विवेक
शनि: कर्म/न्याय
राहु–केतु: भूत (विगत) र पितापुर्खासम्बन्धि

यी सबै ग्रहहरू हाम्रो भित्री वृत्तिहरूका प्रतीक हुन् । गुप्त तत्व के हो भने ग्रह-योगहरू तपाईँको आन्तरिक संरचनाको संयोजन हुन् । जसले जीवनको दिशालाई सूक्ष्म तरिकाले नियाल्न मद्दत गर्छ ।

अन्ततः ज्योतिषको मूल उद्देश्य भोलि के हुन्छ ? भन्ने होइन
आज म किन यस्तो छु, र म भित्रको सम्भावना कसरी उजागर गर्न सकिन्छ भन्ने चेतना दिलाउनु हो । साँचो अर्थमा ज्योतिष यस्तो ऐना हो, जसले नियति होइन चेतनाको सम्भावना देखाउँछ । जसले ग्रहहरूलाई बाधा होइन, शिक्षकको रूपमा बुझाउँछ ।

दशाहरू तपाईँलाई तोड्न होइन, तपाउन आउँछन् । तसर्थ तपाईँ ग्रहको दोष काट्न तर्फ नलागी आफ्नो चेतनाको सुधारमा केन्द्रित हुनुपर्छ । जुन क्षण तपाईं आफ्नो चेतनाको सुधारमा केन्द्रित हुनुहुनेछ त्यही क्षणदेखि तपाईँ भाग्यको दास होइन, समयको ज्ञाता बन्नुहुनेछ ।

जो व्यक्ति ज्योतिषलाई केवल चिठ्ठा, मिल्दो–जुल्दो भविष्यवाणी वा भाग्यको खेल ठान्छ उसले यसको आध्यात्मिक गहिराइलाई कदापि बुझ्न सक्दैन ।

साँचो ज्योतिष भनेको आत्म परिचयको यात्रा हो । जहाँ काल, कर्म, र चेतना को त्रिवेणीले जीवनको मार्गचित्र बनाउँछ । “आकाशको नक्षत्र बुझेर, आत्माको अन्तरिक्ष चिन्ने कला” यही हो ज्योतिषशास्त्रको गुप्त र अन्तिम तत्व ।

आफूलाई चिन्ने विज्ञान नै ज्योतिष हो । ज्योतिषशास्त्र केवल बाह्य ऐश्वर्य (धन, पद, प्रतिष्ठा) प्राप्त गर्नका लागि होइन । परन्तु यसको मूल उद्देश्य हो आफूभित्रको आन्तरिक ऐश्वर्य अर्थात् चेतना र आत्मबोधलाई बुझ्नु ।

कुनै पनि मानिसले पहिले आफूलाई चिन्न आवश्यक हुन्छ । उक्त प्रक्रियाको थालनी आरोहण चिन्नेबाट सुरु हुन्छ । आरोहण भन्नाले जन्मको समयमा पूर्वी क्षितिजबाट उदाउँदै गरेको राशिलाई जनाइन्छ । यो राशिलाई भुलग्न भनिन्छ । जन्मको समयमा चन्द्रमा रहेको राशिलाई चन्द्रलग्न भनिन्छ । बाह्र राशिमध्ये पहिलो राशि मेष राशि हो यसलाई ब्रह्मलग्न भनिन्छ । मेषबाट सुरु हुने राशिचक्रले व्यक्तिको प्रकृति, सोच्ने तरिका, र कार्य गर्ने शैलीको संकेत दिन्छ । यी तीन लग्न (भुलग्न, चन्द्रलग्न, ब्रह्मलग्न) को अध्ययनले व्यक्तिले आफ्नो स्वभाव र चेतनाको ढाँचा बुझ्न सक्छ र जब त्यो बुझाइ प्राप्त हुन्छ । त्यसअनुसार सही कर्म गरेर मोक्षको बाटो पनि तय गर्न सकिन्छ ।

ज्योतिषशास्त्रमा विषयगतता महत्वपूर्ण छ अर्थात्- अनुभव र चेतना प्रमुख छन् । वस्तुनिष्ठतामा केवल बाह्य गणना गौण हुन्छ । जो व्यक्ति आफैं अन्धकारमा छ । त्यसले अरूलाई कसरी प्रकाश देखाउन सक्छ ?

त्यसैले ज्योतिष सिक्नु पहिले आफ्नै लागि, आत्मबोधका लागि हुनुपर्छ । ज्योतिष वेदको दृष्टि हो, वेदाङ्ग हो ज्योतिष, आत्माको नेत्र हो । यसलाई हल्का रूपमा नलिनुहोस् । धर्ममा निहित शास्त्रज्योतिष एक सत्-शास्त्र हो धर्ममा आधारित, धर्मद्वारा मान्य र सम्मानित । साँचो ज्योतिषी धार्मिक हुनुआवश्यक छ न कि कुण्डली दोषको पेरिफेरिमा केन्द्रित । जब धर्मलाई बेवास्ता गरिन्छ तब त्यसले नै पाप र अज्ञानता जन्माउँछ । ज्योतिष एउटा धार्मिक अनुशासन हो । चेतनाको मार्गदर्शन गर्ने पवित्र शास्त्र हो।

’यस्मै कस्मै तस्मै ज्योतिषे नमः।’

(लेखक न्यौपाने वेद वेदाङ्ग संस्कृत विद्यापीठम् देवघाटधाममा अध्ययनरत हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट