ललितपुर, ८ भदौ ।
नेपाल बालसाहित्य समाज (नेबासास)ले १५०औँ जयपृथ्वीबहादुर सिंह जन्मजयन्तीका अवसरमा विभिन्न अग्रज तथा अनुज स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । आइतबार ललितपुरस्थित पाटन दरबार सङ्ग्रहालयमा आयोजित कार्यक्रममा नेबासास जयपृथ्वीबहादुर सम्मानसहित विभिन्न पुरस्कार प्रदान गरिनुका साथै १० बालसाहित्यिक कृतिको लोकार्पण गरिएको हो ।
नेबासास जयपृथ्वीबहादुर सम्मान नेपाली बालसाहित्यका इतिहासकार तथा नेबासासका पूर्वअध्यक्ष प्रमोद प्रधानलाई प्रदान गरियो ।
यस्तै, प्रा. डा. चूडामणि बन्धुलाई नेबासास तेजप्रतिभा बालनियात्रा/लोकवार्ता पुरस्कार, तेजप्रकाश श्रेष्ठलाई नेबासास मुकेश जनक बालविज्ञान पुरस्कार, प्रभात सापकोटालाई नेबासास चूडा–चरण बालजीवनी पुरस्कार, डा. जयन्ती रुपाखेतीलाई नेबासास ध्रुव–सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार र अमेरिकामा रहेका आभास अर्याललाई नेबासास विमला–मोहन प्रवासी बालस्रष्टा पुरस्कार प्रदान गरियो । यी सबै पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ थियो ।
त्यसैगरी, आयन्स जवालीलाई नेबासास जयपृथ्वीबहादुर बालस्रष्टा पुरस्कार र अमृत विकलाई नेबासास जयपृथ्वीबहादुर बालकला पुरस्कार प्रदान गरियो । दुवै पुरस्कारको राशि जनही ५ हजार रुपैयाँ रहेको थियो ।
१० बालसाहित्यिक कृति लोकार्पण
कार्यक्रममा विभिन्न स्रष्टाका १० कृति पनि लोकार्पण गरियो ।
नेबासासका महासचिव डा. विष्णु केसीको सम्पादनमा तयार ‘बालसाहित्यका विधा : सिद्धान्त र परम्परा’ तथा उनकै लेखनमा तयार ‘कमिलाको बानी’, ‘इन्द्रेणी’ र ‘चन्द्रबहादुर’ गरी तीन बालपुस्तक लोकार्पण गरिए ।
त्यस्तै, नेबासासका अध्यक्ष विजयराज आचार्यको उपन्यास ‘हितुवा’ तथा उनकै अनुवादमा तयार चिनियाँ बालउपन्यास ‘जादुको छडी’, कृष्ण बजगाईंका ‘स्यालको सिङ’ र ‘आँखा झिम्काउने पहाड’ उपन्यास, रबिन्द्र मानन्धरको लेखन तथा चित्रांकन रहेको ‘मन्त्रपुरकी माया’ र उर्मिला ढुंगाना सुवेदीको ‘हजुरआमाको भान्छा कोठा’ नामक बालपुस्तक लोकार्पण गरिएको हो ।
सम्मान तथा पुरस्कारबाट सम्मानित एवं पुरस्कृत व्यक्तित्वसँगै लोकार्पित कृतिमाथि सर्जक शैलेन्दुप्रकाश नेपालले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रोल्पाबाट पुरस्कृत बालगायक अमृत विक तथा विशेष अतिथि अग्रज बालसाहित्य सर्जक, नेबासासका संस्थापक एवं संरक्षक रामकुमार पाँडे थिए । नेबासासका महासचिव विष्णु केसीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व अध्यक्ष विजयराज आचार्यले गरेका थिए ।
कार्यक्रम नेबासास, पाटन सङ्ग्रहालय र सिविन नेपालको आयोजनामा भएको थियो ।





