मकवानपुर, ७ भदौ ।
मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा गुठचौर गाउँपालिका–४, जुम्लाका हेमप्रकाश मञ्जिल प्रथम भएका छन् ।
‘छुटेपछि देश’ शीर्षकको कविता प्रथम भएसँगै मञ्जिलले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
साहित्यकार तुल्सी थापाको स्मृतिमा आइतबार आयोजित प्रतियोगितामा लालबन्दी नगरपालिका–४, सर्लाहीका सुमन घिमिरेको ‘म देश कसरी बनाऊँ ?’ शीर्षकको कविता द्वितीय भयो । घिमिरेले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यस्तै, अर्जुनधारा नगरपालिका–५, झापाका योगराज पौडेलको ‘मातृगाथा’ कविता तृतीय हुँदै उनले २० हजार रुपैयाँ प्राप्त गरे । काठमाडौँका चेतना शर्माको ‘रातो क्यानभास’ र भीमदत्त नगरपालिका–१८, कञ्चनपुरका धीरज नाथको ‘बगैँचा’ कवितालाई प्रोत्साहनस्वरूप १०–१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
विजयी कविहरूलाई गाउँपालिका अध्यक्ष हिदम लामाले पुरस्कार प्रदान गरेका थिए । नेपाली साहित्यको उत्थानमा साहित्यकार तुल्सी थापाले पुर्याएको योगदानको स्मरण गर्दै राष्ट्रियस्तरको कविता प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लामाले बताए ।
प्रतियोगिताका लागि सातै प्रदेशबाट प्राप्त ४९२ कवितामध्ये उत्कृष्ट १० कविता छनोट गरी वाचन गराइएको थियो । गाउँपालिकाले गत साउन १२ गते सूचना प्रकाशित गरी प्रतियोगितामा सहभागी हुन आह्वान गरेको थियो ।
विषयवस्तु, भाषा, सिर्जनात्मकता, सन्देशलगायतका आधारमा कविताको मूल्याङ्कन गरिएको निर्णायक समितिका संयोजक साहित्यकार डा. निमेष निखिलले जानकारी दिए ।
गाउँपालिकाको आयोजना तथा बुढ्यौली साहित्य समाज नेपाल, मकवानपुरको व्यवस्थापनमा भएको कार्यक्रममा कवि श्रवण मुकारुङ, साहित्यकार आभाषलगायतको उपस्थिति थियो ।
यसैबीच, तुल्सी थापाको तेस्रो स्मृति दिवसका अवसरमा भीमफेदी–भैँसेमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा थापाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । थापा भैँसेमा जन्मिएका थिए भने सोही विद्यालयमा प्रधानाध्यापकसमेत भएका थिए ।





