सूर्य लाकोजूको ‘एक झुल्को घाम’ लोकार्पण

काभ्रे, ७ भदौ ।
कवि सूर्य लाकोजूको नवीनतम कविता सङ्ग्रह ‘एक झुल्को घाम’ हालै एक समारोहबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकार्पण गरेका छन् ।

कृति लोकार्पण गर्दै प्रमुख अतिथि श्रेष्ठले कवि तथा साहित्यकार देशका गौरव भएको बताए ।

कृतिमाथि चर्चा गर्दै समालोचक डा. ज्ञानु अधिकारीले नेपाली कविता विधामा आफ्नो फरक प्रवृत्ति स्थापित गरिसकेका लाकोजूको प्रस्तुत कृति वर्तमान नेपाली समाजको एउटा बिम्ब भएको बताए । उनले असन्तुष्टि र निराशामा बाँच्न विवश देशका युवाको प्रतिनिधि आवाजसमेत कवितामा मुखरित भएको उल्लेख गरे ।

मानवीय संवेदना र यथार्थबोधी भावनाले कवितालाई जीवन्त बनाएको भन्दै उनले ‘एक झुल्को घाम’ नेपाली साहित्यको पठनीय कृति बनेको बताए ।

त्यस्तै, अर्का समालोचक प्रा. डा. रमेशचन्द्र अधिकारीले लाकोजूका कविता सरल देखिए पनि तिनमा गहिरो गाम्भीर्यता रहेको बताए । उनका कविता बलशाली रहेको उल्लेख गर्दै उनले भने, “सूर्य चम्किलो र उज्यालो छ । उनको साहित्य यात्रा पनि निकै उज्यालो छ। उनको उज्यालो निकै पर पुगेको छ ।”

समारोहमा ‘एक झुल्को घाम’मा समेटिएका कविताहरू विभिन्न कविले वाचनसमेत गरेका थिए । बुद्धिकृष्ण घो, ध्रुवकृष्ण ताम्राकार, हिसिलिना शाक्य, रहेना मानन्धर नकःमि, विनिता बज्राचार्यलगायतले कविता वाचन गरेका थिए । कविता वाचनले समारोहलाई थप साहित्यिक र सिर्जनात्मक बनाएको थियो ।

कार्यक्रम मध्यपुर थिमि साहित्यिक क्लबका अध्यक्ष वसन्त नकःमिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कविता, निबन्ध, हाइकू, नियात्रा, मुक्तक र अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका करिब तीन दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । उनले त्यत्तिकै सङ्ख्यामा साहित्यिक कृतिको सम्पादनसमेत गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट