देवघाटधामबाट हिँडेको साठी जनाको टोली चौबिसौँ दिनमा मुस्ताङ जिल्लाको धीमे ठाँटी भन्ने ठाउँमा गएर बास बस्यो । दशदेखिन् पन्ध्र किलोमिटर हिँडेपछि बल्ल एउटा गाउँ देखिन्थ्यो । केही पोथ्रापोथ्री बोटबिरुवाहरू देखिन्थे ।
भरपूर हरियाली देख्न नपाएको लगभग साता दिन भएको थियो । पृथ्वीको अर्कै कुनै अनकन्टार कुनामा आएजस्तो भएको थियो । ढुङ्गा, माटो र बालुवामात्र थियो । धीमे ठाँटीमा पनि पानीको स्रोत भने थियो । छेउमा एउटा खोल्सा पनि । याराबाट ठाँटी हिँडेका हामी घारा नपुग्दै बोकेको दुई लिटर पानी सकियो, आज यो चेत थियो हामीसँग । पानी टन्न खाएर जाने र दुई लिटर लिएर जाने । आफूले बोकेको पानी अरूलाई दिन पनि सकिन्नथ्यो । एक त पानी पाउन नै मुस्किल पर्ने दोस्रो त्यत्रो उकालोमा बोकेर लगेको पानी दिन पनि नसकिने । यी त भए पानीका कुरा… ।
धीमे ठाँटीबाट उकालो चढ्दा श्वास फुलिरहेको थियो । ठाँटीमा पवन दाइसँग अक्सिजनको मात्रा नाप्ने यन्त्र लिएर अक्सिजनको मात्रा नाप्दा ७४ मा झरेको थियो । (यदि यन्त्र सहि सलामत भएको भए) जब कि चराङमा नाप्दा ९३ थियो मेरो । हुन त चराङ समुद्र सतहदेखि ३,६०० मिटरको उचाइमा थियो भने धीमे ठाँटी ४,८०० मिटरको उचाइमा । आजै हामीलाई एउटा ५,२०० मिटरको उकालो उक्लिनु थियो भने अर्को ५,७०० मिटरको उकालो उक्लिनु थियो । खासमा एकैदिनमा दुईवटा पहाड नाघ्नु थियो । ४,८०० मिटरको उचाइबाट ५,२०० मिटरको उचाइ उक्लिएर फेरि ४,८०० मिटरको खोँचमा झर्नु थियो । तत्पश्चात् ५,७०० मिटरको उचाइ उक्लिएर ४,८९० मिटरको दामोदरकुण्ड पुग्नु थियो । किलोमिटरगत रूपमा हेर्दा अरू दिनको तुलनामा थोरै भए तापनि समयको हिसाबले नौदेखि दश घण्टा लागेको थियो ।
अहिले सम्झँदा के लाग्छ भने त्यत्रो उकालो एकैदिनमा त्यो जमातको लहैलहैमा लागेर मात्र उक्लिएको हुँ । त्यहाँ पुगेका अधिकांश व्यक्तिहरू यारा या त घाराबाट घोडामा जाँदा रहेछन् । अर्को कुरा के पनि हो भने त्यत्रो चौबिस चौबिस दिन बिना साधन त्यहाँसम्म पुगियो भने एकैदिनको त सवाल थियो । यसो भनौं पैतालाद्वारा नै पुग्नुपर्ने सङ्कल्प थियो, विकल्प थिएन ।
अब फेरि म दामोदरकुण्ड गएछु भने धेरै जसो सम्भावना यो छ कि म यारा या घाराबाट घोडामा जानेछु । हुन त म पहाडमा जन्मिएको मान्छे, गुराँससङ्ग हुर्किएको मान्छे भन्दै गर्दा शरीरको सुख पूर्वक हुर्काइले पनि यत्रो पहाड उक्लने जब्बर नगर्न सक्छ, भनौं चाहँदैन । कहीँ कसो लाग्छ पनि यी उकाला र ओरालाहरू सिङ्गो पुस्तक नबनेर पुस्तकभित्रको एउटा अध्याय भएर आउनु पर्थ्यो । खैर जे होस् !
अँ.. म भन्दै थिएँ कि हामी स्वाँ… स्वाँ… गर्दै धीमे ठाँटीको उकालो चढ्दै थियौं । चिसो, हावाको वेग र अक्सिजन यी तीनैवटा थोकका कारण ओठ फुटेका थिए । हात खस्रा र काला हुँदै थिए भने नाकको बाहिरी छाला जाँदै गरेको पहिलो पटक अनुभव गर्दै थिएँ । श्वासको दौडाई रफ्तारमा थियो, खुट्टाको हिडाई कछुवा तालमा तर हिड्नु त थियो नै । कतै पुगेर रोकिएर यसो पछाडि फर्कदा यस्तो लाग्थ्यो कि ओहो ! म त भर्खर यतिमात्र आएछु । जब हामी ५,२०० मिटरको पहाड उक्लिएर झर्यौँ, तल एउटा खोला थियो – भूत खोला ।
दुई विशाल पहाडको बीचबाट प्रवाहित भूत खोला धेरैका लागि प्यास परिपूर्तिको माध्यम बन्यो । सायद भूत खोला त्यहाँ हुँदैन थियो त यात्रा धेरैका लागि कष्टकर हुन्थ्यो । ‘उक्लनु पर्ने पहाड ( चाहे जाँदा ५,७०० मिटर होस् या फर्कदा ५,२०० मिटरको) देखेर जो कोही पनि तर्सिने भएकाले यसको नाम भूत खोला रहन गएको हो ।’ यस्तो किंवदन्ती सुनियो ।
भूत खोलाको छेउमा एउटा कटेरोजस्तो थियो तैबिसेक ओत लाग्नसम्म मिल्ने । कोही कोही त त्यही कटेरोमा रात बिताएर पनि जाँदा रहेछन् । दामोदरकुण्डबाट फर्कँदा दुई जना व्यक्ति त्यही कटेरोमा बास बसेर जाँदै गरेको पनि भेटेका थियौं । हामी भूत खोलाबाट उकालो लाग्यौँ । नाक ठोक्किने उकालो भनिन्छ नि सायद यस्तै उकालोलाई भनिन्छ होला । मौसम खुलेको अवस्थामा माथि ५,७०० मिटरको पहाडमा एउटा लिङ्गा गाडिएको तलैदेखि देखिने रहेछ । लिङ्गा देखिँदा ‘त्यति मात्रै त हो’ जस्तो लाग्ने तर लिङ्गा नदेखिँदा… । ढिलो चाँडोको कुरा छोडौँ, ५७०० मिटरको डाँडामा लिङ्गा भएको ठाउँमा पुग्दा ढुक्कको श्वास लिन पाइयो । अब ओरालो बाँकी छ । अलमल नगरी झर्यौँ । अर्को कुरा जल थिएन, जंगल थिएन तर जीवन थियो । हामीले त्यहाँ घोरल देख्यौं । बथानै थिए । पच्चिस ओटा त खुद मैले नै गनेको हुँ ।
‘हुन त प्रत्येक भीर र उकालाहरू कठिन र दु:खदायक हुँदैनन् र प्रत्येक सम्म र ओरालाहरू सुखद् र सहज हुँदैनन् ।’ भन्ने सुनेकै हो भन्नका लागि भनिन्छ पनि । तर उकालो चढ्दा जति गाह्रो भएको थियो, त्यति अप्ठ्यारो ओरालो झर्दा चाहिँ भएन । अब आउँछ कि भन्यो आउँदैन । अब आउँछ कि भन्यो आउँदैन । यो चाहिँ धेरै बेरसम्म लागु भयो । तर जे होस् देवघाटबाट हिडेको पच्चिसौँ दिनमा पुगियो दामोदरकुण्ड, छोइयो पानी त्यहाँको, भिजाइयो घाँटी एक घुट्कोले ।
उपलब्धि एक घुट्को पानीमात्र होइन, अपार आनन्दानुभूति हो । लक्ष्य छुनुमात्र होइन आफूलाई नै नामेट गराइदिनु हो त्यो अस्तित्वसँग । म जब पहिलो दिन मुस्ताङ पुगेँ हेर्नका लागि राम्रै थियो, फोटो खिच्नका लागि ठीकै थियो । तर जब दोस्रो दिनबाट त्यही दृश्यहरू दोहोरिएर, तेहरिएर आए वाक्क लागेको थियो ती उजाड पर्वतसङ्ग, मरुभूमिसँग । तर त्यो तिक्तता दामोदरकुण्डले एकैचोटि हुत्याएर फालिदियो । एउटा आन्तरिक पर्यटक बनेर गएको म पुग्दा आध्यात्मिक साधक हुँदै थिएँ । मेरा बा र हजुरबाका मुखबाट कथा जस्तै सुनेको मैले त्यस्तै आहान आफ्नो जीवनको अध्यायमा जोड्दै थिएँ । सुनाउनका लागि त अन्य थुप्रै पटकथाहरू छन् तर सम्झनका लागि जीवन्त साश्वत कथा हो यो । म भन्दिनँ कि दामोदरकुण्ड सबैले एकपटक पुग्नैपर्छ । जतिले पुग्छन् त्यतिले सबथोक पुगेको महसुस गर्छन् एकफेर । पुग्नु भनेको आफू हुनुको महसुस गर्नु हो । प्रश्न हिन्दुहरूमा आएर सकिदैनन् बौद्ध वा अन्य धर्मावलम्बीहरूका लागि पनि उतिकै महत्त्वपूर्ण छ तर दुई महिना खुल्ने दामोदरकुण्ड दुई चार सयभन्दा पर्यटक वा आध्यात्मिक साधक नहुनु प्रचारप्रसारको कमी हो । अन्यथा को आउन चाहँदैन यो देवस्थलमा ? को चाहँदैन स्वर्ग हेर्न ? तर हामीले यसलाई पनि केही सिमित ग्रन्थहरूमा सिमित स्थान दिएर राखेका छौँ । जसको प्रचारप्रसार केही सिमित कथावाचकहरूले आफ्नो प्रवचनमा अलङ्कारका सिवाय अन्यत्र बोल्न जरुरी ठान्दैनन् । नत्र कसरी प्रचार गर्छ अमेरिकाले लस भेगसको ? हुन त नाथे जुवाखाना न हो । हामीले हामीसङ्ग भएका सम्पदालाई एक त प्रचार गर्न सकेनौं दोस्रो हामी आफैँले बुझ्न चाहेनौँं । यसरी विस्तारै सकिदै गयौँ ।
सिमसिम पानी परेकाले गएर सिधै भोजन गरेर सुतिहाल्यौ । भोलिपल्ट बिहान अर्थात् देवघाटबाट हिडेको छब्बिसौँ दिनको दिन बिहान उठेर स्नान गर्यौँ । त्यहाँ कुण्डहरू थुप्रै थिए । सूर्यकुण्ड, दूधकुण्ड, रुद्रकुण्ड, ब्रह्मकुण्ड, दामोदरकुण्ड (चक्रकुण्ड) । त्यही दामोदरकुण्डलाई चक्रकुण्ड पनि भनिँदो रहेछ । जसरी मैले देवघाटमा हुँदा कल्पना गरेको थिएँ कि गोसाइँकुण्डजस्तै दामोदरकुण्ड पनि विशाल होला तर अपेक्षाकृत रूपमा भन्नुपर्दा एउटा पोखरीजस्तो मात्रै पाएँ । अर्को कुरा सोचेको थिएँ सिधै दामोदरकुण्डबाट नै कालीगण्डकी नदी बग्छिन् र प्रवाहित हुँदै देवघाटमा त्रिशूली नदीसँग मिसिएर नारायणी बन्छिन् । तर कल्पनाभन्दा यथार्थ फरक थियो । हिमालबाट (हिउँ, बरफ आदि पग्लिएर) आएको एउटा सानो नदीमा त्यही दामोदरकुण्डबाट बगेको जल मिसिदो रहेछ – त्यही नै कालीगण्डकी नदी हुन् । दामोदरकुण्ड र रुद्रकुण्डबाट बगेर गएको जलबाट अर्को कुण्ड बन्दो रहेछ । त्यही कुण्डको तलतिर एउटा धारो बनाइएको थियो । त्यहीँ स्नान गर्यौं । लगभग ४° सेल्सियस थियो होला त्यतिखेरको तापक्रम । सुनिएको थियो कि दामोदरकुण्डका आसपास प्रशस्त शालिग्राम पाइन्छ भनेर तर अँ..हँ.. पाइएन । बरू सुर्खाङ्ग नदीमा भने थिए शालिग्राम । केही टुटेका थिए, अधिकांश फुटेका थिए । कहीँ कतै सग्ला पनि भेटिए । यति शालिग्राम कि टिप्दिनँ भन्दा पनि देखिने त्यति विघ्न । सबै चक्र अङ्कित मात्र, गोला र चिल्ला त देखिएनन् नै । हुन त “कालीको तटको ढुङ्गो देवता कहलाउँछ ।” हामीले केही बोकेर पनि आयौँ । तर दामोदरकुण्डमा भने भेटिएन । यसो भनौं अरूले भन्दा जसरी भनेका थिए र मैले सुन्दा जसरी सुनेको थिएँ, त्यसरी मैले चाहिँ भेटिनँ । आजै फर्कनु पर्ने थियो यारासम्म । दुई दिन लगाएर हिँडेको बाटो एकैदिनमा फर्कनु थियो । हुन त ठाँटीबाट ओरालो बाटो हो ।
बिहान स्नान गरेर दामोदरकुण्डमा पूजा गर्यौँ । पदयात्रा समापन गर्यौं । खिच्नु फोटो खिच्यौँ, भिडियो बनायौँ । सोमेश्वर महादेवको स्थापना गर्यौं र फर्कियौँ हामी । आज एक लिटर दामोदरकुण्डको जल थियो त एक लिटर खानका लागि । जसोतसो एक लिटरले भूत खोलासम्म पुर्याउनु थियो किनकि त्यो भन्दा यता पानीको कुनै स्रोत थिएन र हामी फर्कियौँ पनि यारासम्मै ।
बाँकी देवघाटबाट यारासम्मको चौबिस दिनको यात्रा सामान्य नै रह्यो । कहिले आश्रममा बस्यौँ, कहिले विद्यालयमा त कहिले सामुदायिक भवनहरूमा । उठ्यो; स्नान, नित्यकर्म गर्यो । चिया, खाजा खायो । आफ्नो बोक्ने / राख्ने सामान मिलायो । भनिएको गन्तव्यसम्म गयो या अरू जता जान्छन् त्यतै खुट्टा लम्कायो । प्रात:कालीन भोजन गर्यो; केही क्षण आराम गर्यो फेरि विश्राम स्थलतिर लम्कियो । तर सहज रूपमा नै कट्यो पच्चिस दिन, ४३१ किलोमिटर, नौ जिल्ला । अनि देवघाटसम्म आयौं, जिन्दगीमा अर्को एक अध्याय थपेर ।





