`यो यात्रा पनि टुङ्गिने अवस्थामा छ
एउटा भोलि टुङ्गिनेछ अर्को चार दिनपछि
जीवनको यात्रा लामो हुन्छ यो त यात्राभित्रको यात्रा हो
नटुङ्गिने कुरै भएन जीवनयात्रा पनि त टुङ्गिन्छ एक दिन !´ (पृष्ठ १३२ )
अन्ततः अमेरिकामा ४३ दिन पुस्तक भरखरै पढेर सकेँ ।
यो नितान्त यात्रा अनुभवको पुस्तक हो ।
लेखक एलबी क्षेत्रीको अमेरिकाको पारिवारिक भ्रमणमा केन्द्रित रहेर यो किताब लेखिएको छ । जीवनमा हरेक जो कोहीले यात्रा गरेकै हुन्छन् । ती मध्ये कमैले मात्र आफ्नो यात्रा अनुभूतिलाई किताबको आकार दिन सफल हुन्छन् । यसअर्थमा एलबी क्षेत्री सफल हुनु भएको छ । ४३ दिनको अमेरिका बसाइँका सन्दर्भका केही रोचक, केही रमाइला प्रसङ्गहरु, आफ्ना विद्यार्थीहरुसँगको भेट, अमेरिकाको भौगोलिक सुन्दरताको बयान, अमेरिकी जीवनशैली, मेसिन जस्ता मानिसहरु, सुन्दर भविष्य निर्माणका लागि मानिसहरुले गरेका भागदौड, केही मिठापलहरु, केही खुशी -उमङ्गका क्षणहरु, केही गुनासा, केही अफ्ट्यारा, थोरै आत्मीयता, धेरै बनावटी हार्दिकता, अमेरिका भ्रमणका नौला अनुभवबारे एलबी क्षेत्रीले यस किताबमा उल्लेख गर्नु भएको छ ।
`भूपेन्द्रको फोन आउँदा निकै हल्ला गरेर आएको प्रसन्नता केही नबोली सुटुक्क प्रस्थान गर्न खोज्दा म फिस्स हाँसेको मात्र थिएँ । अब उनको फोन कहिल्यै आउँदैन भन्ने मलाईभन्दा बढी मेरो मनोविज्ञानलाई थाहा थियो । मेरा ओठमा रहस्यमय मुस्कानले स्थान लियो । अमेरिकामा बसुन्जेल भूपेन्द्रको मात्र होइन, फोन गर्छु भनेका धेरैको फोन आएको थिएन ।´
जब जिन्दगीमा हामीले अरुमाथि चाहेको भन्दा बढ्ता अपेक्षा राखिन्छ ! कहिलेकाहीँ जीवनमा आफूले अपेक्षा गरे अनुसारको नतिजा नआउन पनि सक्छ । किनकि संसारमा एउटै कुराको अपेक्षा निश्चित छ त्यो `मृत्यु´ मात्रै हो । मृत्यु बाहेक सबैकुरा अनिश्चित छ । हामीले राखेका अपेक्षाहरु आफू अनुकूल नहुन पनि सक्छन् ।
अमेरिकामा एलबी क्षेत्रीलाई यस्तै भएको छ । यो कुरा उहाँले अमेरिकामा ४३ दिन´मा लेख्नुभएको छ । उहाँले अपेक्षा गरेका नजिकका मान्छेहरुबाटै उहाँको अनुरोधलाई उपेक्षा भएको छ । `फोन गर्छु´ भनेर आश्वासन दिएर फोन समेत नगर्नेहरु भेटिए । यो कुराले उहाँलाई केही हदसम्म निराशा बनायो । यसबाट सायद उहाँले जिन्दगीमा ठूलो सिकाइको अनुभव लिनुभयो होला । कसैको घरमा दुईचार दिनसम्म पाहुना बस्न जानु त ठिकै हो ।
भनिन्छ `गुँद पनि धेरै खायो भने तितो हुन्छ ।´ जब पाहुना बस्न गएकाहरु निर्धक्क पाहुना भएर बसिदिन्छन् तब अतिथि सत्कार गर्नेपक्षलाई निकै झर्को र असजिलो पनि लाग्न सक्छ । जसकोमा पाहुना बस्न गएको हो, उसलाई यस्तो लाग्नु स्वभाविक पनि हो । अनि त अनेकौं बहानाहरु उब्जिन्छन् , हुँदै नभएको व्यस्तताहरु एक्कासि तय हुन्छन् र पाहुनालाई समय दिन नसकिने अवस्थाको सिर्जना हुन पुग्छ । त्यसमाथि अमेरिकाको व्यस्त जीवनमा आफ्ना सबै कामधन्दालाई छाडेर पाहुनालाई समय दिनु अमेरिकाको जीवनशैलीमा ठूलै चुनौती पनि हुन्छ । कहिलेकाहीँ सम्बन्धको हिसाबले अनुरोधलाई सिधै नकार्न सकिन्न । मुखले स्वीकार गरेता पनि भित्री मनले नकारिरहेको हुनसक्छ । यस्ता कुरालाई हामी आफैँले बुझेर त्यो अनुसारको निर्णय लिनु उपयुक्त हुनेछ । किताबमा एलबी क्षेत्रीले आफैँलाई आतिथ्य दिएका पाहुनालाई गरेको नकारात्मक टिप्पणीमा म भने सहमत हुन सकिनँ ।
`मीना म्याम पहिलो पटक पौडी खेल्ने पहिरनमा हुनुहुन्थ्यो । छर्लङ्ग साँप्रा देखाउनु परेकोमा एकछिन लजाएर मलाई हेर्नुभयो तर मैले भनें- पौडी खेल्ने लुगामा राम्री देखिएकी छौ । तिम्रा साँप्रा राम्रा छन् । लाज मान्नुपर्दैन । यो अमेरिका हो ।´ ( पृष्ठ -६९ )
एलबी स्टाईल भन्दैमा आफ्नै धर्मपत्नीलाई यस किसिमले प्रस्तुत गर्नु कतिसम्म उचित होला ?
मेरो हकमा मलाई मन परेन । मन परेन त परेन ।
मीना म्यामको स्वभाव अनुसार उहाँलाई यसरी प्रस्तुत गर्नु उहाँको व्यक्तित्व माथि अभद्रता लाद्नु हो जस्तो लाग्छ । सायद किताब लेख्ने बेलामा यो प्रसङ्गबारे म्यामलाई जानकारी गराइएको हुन्थ्यो भने सायद म्यामले सहमति जनाउनु हुन्थेन होला ।
पुस्तक विमोचनका क्रममा टिप्पणीकार सामना पहाडले साँप्राको बारेमा आफ्नो असहमति सहितको बिचार राख्नु भएको थियो । एलबी क्षेत्रीले यो मेरो एलबी स्टाईल हो भनेर सुझावलाई स्वीकार्न सक्नु भएन ।
त्यस्तै नियात्राकार / सफल व्यवसायी जीवा लामिछानेले पनि `अमेरिका जस्तो देशमा जहाँ मान्छेलाई एक अर्कालाई हाई भन्नेसम्मको समय अभाव रहन्छ । त्यस्तो ठाउँमा भ्रमणमा गएकालाई नजिकका प्रियजनहरुले आफूलाई समय दिएनन् भन्नू उचित होइन´ भन्ने मत जाहेर गर्नु भएको थियो ।
एलबी क्षेत्री जत्तिको सर्जकलाई अमेरिकामा होटलमै बस्दा पनि त्यति धेरै आर्थिक चुनौती हुँदैन भन्ने मेरो ठहर हो । अमेरिका जाँदा दस हजार डरल साटेर लैजानु भएको उहाँले म्याडमको साथमा अमेरिका ४३ दिन घुमेर अष्ट्रेलिया फर्किंदा अझै उहाँसँग चार हजार डलर बाँकी नै रहेछ ।
नेपालबाट अमेरिका भ्रमणमा जाँदा उहाँले अमेरिकामा भेटिएका आफ्ना प्रिय विद्यार्थी, साथीभाइलगायत अमेरिकी नागरिकलाई मायाको चिनो स्वरुप प्रदान गर्नु भएको ऊनको सल, पुस्तक, चुरा, नेपाल घुम्न आउनुस् भन्ने लोगोसहितको सेतो टिसर्टको प्रसङ्ग अत्यन्तै लाभदायक देखियो । आफ्नो देशलाई चिनाउन सरले गर्नु भएको मेहनत प्रसंशायोग्य नै छ । यसलाई लेखक वसन्त बस्नेतले समाचार बनाएर पत्रिकामा नछापेको प्रसङ्ग बडो रमाइलो थियो । सायद सरले गरेको कार्य वसन्त बस्नेतलाई खासै ठूलो नलागेको हुनसक्छ या त उनको टिमले समाचार बनाउन उचित नठानेका पनि होलान् । यसलाई सकारात्मक ढङ्गले लिन सकियो भने मनमा शान्ति मिल्नेछ ।
पुस्तक भित्रबाट मनपरेका केही लाइनहरु :
** जाने त गइहाल्छन् तर सम्झना छोडेर जान्छन् , तिनैको सम्झना ठाउँ ठाउँमा गार्डेन अफ पिस, गार्डेन अफ लवर, गार्डेन अफ होप लेखिएका बोर्डहरु थिए । मृतकहरुलाई गरिएको यो सम्मानलाई आँखा चिम्लेर मैले पनि मनमनै सलाम भनेँ । ( पृष्ठ -१४२ )
** संसारभरिका मान्छे के काला, के गोरा, के अफ्रिकन, के अमेरिकन, के नेपाली, सबैको प्राथमिकता खुशी प्राप्त गर्नु नै त हो, छोटो जीवनकालको एउटा उद्देश्य रमाइलो जीवन बाँच्नु नै त हो । ( पृष्ठ – १४३ )
** सम्बन्धबिना जीवन बाँच्न कठिन हुन्छ । किनकि जीवन नै सम्बन्ध हो । (पृष्ठ – १४९ )
** कुनैकुनै खुशी यस्ता हुन्छन् जो पलभरमा प्राप्त हुन्छन् तर जिन्दगीभरिका लागि उपकार बनेर बस्छन् ।
( पृष्ठ – १५० )
** मेरो अनुभूतिलाई पुस्तकको आकार दिने प्रयास गरेको । फेरि पनि चाहेजस्तो पुस्तक बन्न सकेको छैन । तर त्यसको अफसोच छैन । जे बनेको छ एलबी शैलीको बनेको छ । पुस्तक आफ्नो खुशीका लागि लेख्ने हो र म खुशी छु ।
(पृष्ठ -१५१ )
अन्तमा :
सरले भाषा सम्पादन नगरेको कारण किताब जति स्तरीय बन्नुपर्ने थियो त्यो बन्न नसकेको महसुस गरेँ । केही ठाउँमा आमा – दिदीबहिनीहरुमाझ उच्चारण गर्न असहज हुने किसिमका यौनलाई बिम्बको रुपमा प्रयोग गरिएका शब्द चयन अलि अपाच्य छन् ।
पुस्तक बिमोचनमा पनि `साँप्रा´ को विषयमा बेस्सरी चर्चा भएकै हो । सबै कुरा एलबी स्टाईल हो भन्दैमा समाजले त्यो स्टाईललाई सहजैरुपमा स्वीकार्छ भन्ने पनि त हुँदैन । आउने दिनहरुमा उहाँले यस विषयमा अलि ध्यान पुर्याउनुपर्ने देखियो । बाँकी कुरा पुस्तक पढ्दा रमाइलो, रोचक नै छ । किताबमा लगानी गरेको पैसा पनि असुल भएको मानेको छु ।
अमेरिकामा ४३ दिनलाई पेज टर्नर प्रालिले प्रकाशन गरेको हो । भ्रमण सन्दर्भका प्रशस्तै तस्बिरसहित बाक्लो गाता भएको यो पुस्तकको मूल्य भने ४५०/ रुपैयाँ मात्रै रहेको छ ।
सरलाई हार्दिक बधाई तथा शुभकामना !
चरैवेति चरैवेति चरैवेति





