भरतपुर, १२ वैशाख ।
मुक्तक मञ्च चितवनको आयोजनामा चितवन साहित्य परिषद्मा खुला मुक्तक वाचन तथा पुस्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा युवा मुक्तककार निर्दोष जीवनको ‘प्रेमको सुगन्ध’ र राजन बिफल पौडेलको ‘अनिदो मन’ कृतिमाथि विमर्श गरिएको थियो । ‘अनिदो मन’ माथि समालोचक रमेश प्रभात र ‘प्रेमको सुगन्ध’ माथि पुष्प अधिकारी अञ्जलीले समीक्षात्मक धारणा प्रस्तुत गर्नुभयो ।
खुला मुक्तक वाचन सत्रमा दामोदर पौडेल, देवी शर्मा, सुमन कडरिया, नीराजन भुसाल, केशवराज आमोदी, कपिल अज्ञात, रेवतीरमण खनाल, गोकर्ण मल्ल, पुष्प अधिकारी अञ्जली, राजेन्द्र घायल, गिरीराज डल्लाकोटी, अमृता बिके रसाइली, राजु आचार्य दीप, निर्दोष जीवन, सरस्वती पौडेल, प्रकृति प्रेमी, देवी कार्की, टीकाराम पराजुली, सुजन क्षेत्री तथा करुणा उल्लासी कृष्णलगायतले आफ्ना मुक्तक प्रस्तुत गर्नुभयो । समसामयिक, राजनीतिक बेथिति एवम् प्रेमिल मुक्तकहरू कार्यक्रममा वाचन गरिएका थिए ।
कार्यक्रममा तिर्सना सापकोटा र सुनिल महतोले मुक्तक दोहोरी प्रस्तुत गरी दर्शकको ध्यान आकर्षित गर्नुभएको थियो ।
शुभकामना मन्तव्य राख्दै भाषा आयोगका सदस्य डा. पुष्कराज भट्टले साहित्यले समाजलाई सचेत र संवेदनशील बनाउने उल्लेख गर्नुभयो । साथै, चितवनमा मुक्तक लेखनको इतिहास र वर्तमान प्रवृत्तिबारे केशवराज आमोदी र कपिल अज्ञातले टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम संयोजक तिर्सना सापकोटाको अध्यक्षतामा गरिएको कार्यक्रममा अध्यक्ष राजु आचार्य दीपले स्वागत मन्तव्य राख्नुभएको थियो । मुक्तक मञ्च चितवनको स्थापना २०६० सालमा भएको हो । संस्थापक अध्यक्ष रामकृष्ण अनायासले २२ वर्षे कार्यकालमा सामाजिक सञ्जाल एवम् डिजिटल माध्यममार्फत मुक्तक सम्बन्धि कार्यक्रम र गतिविधि सञ्चालन गरिरहनुभएको कार्यक्रममा जानकारी दिइयो ।





