स्याङ्जा, बलमाटा, १२ वैशाख ।
युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको पहिलो साहित्यिक कृति ‘मुनाल (बतासे प्रेम)’ को लोकार्पण, परिचर्चा तथा सिर्जना वाचन कार्यक्रम–२०८३ सम्पन्न भएको छ । ८३ वटा मुक्तक सङ्ग्रहीत उक्त कृतिले स्याङ्जाको साहित्यिक वृत्तमा नयाँ उत्साह थपेको छ ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको आठौँ वर्ष प्रवेशको सन्दर्भमा भीरकोट नगरपालिका–७ वडा कार्यालयको आयोजनामा बलमाटास्थित कालिका पुस्तकालयको सभाकक्षमा कार्यक्रम सम्पन्न गरिएको हो । आयोजकका अनुसार भीरकोटको साहित्यिक इतिहासमा विशेष महत्त्व राख्ने कार्यक्रमका रूपमा यसलाई लिइएको छ ।
वडा अध्यक्ष ताराप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्य प्रमुख अतिथि रहेका थिए । संस्थापक नगरप्रमुख छायाराम खनाल र युवा समाजसेवी यामप्रसाद अधिकारी (लक्ष्मण) विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीर, शम्भु अर्याल र मनिषा कोइरालाले कृतिमाथि समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए । कृतिको औपचारिक लोकार्पणपछि उनीहरूले मुक्तककार मुनाल गोदार क्षेत्रीको सिर्जना, विषयवस्तु र शैलीबारे चर्चा गरेका थिए ।
यसै अवसरमा युवा शैक्षिक व्यक्तित्व अमृत अर्यालले “सिर्जनशील सिकाइको सन्दर्भमा शिक्षक र विद्यार्थीको भूमिका” विषयमा विचार व्यक्त गर्दै सिर्जनात्मक शिक्षाको महत्त्व औंल्याए ।
वि.सं. २०५९ भदौ २१ गते स्याङ्जाको भीरकोट–७ मा जन्मिएका मुनाल हाल पृथ्वीनारायण क्याम्पस, पोखरामा व्यवस्थापन संकायमा स्नातक अध्ययनरत छन् । डाँफे अनलाइनका सञ्चालकसमेत रहेका उनी डाँफे डिजिटेक प्रा.लि. पोखराका प्रमुख तथा फोर.जी. इन्जिनियरिङ प्रा.लि. काठमाडौंका व्यवस्थापकका रूपमा पनि कार्यरत छन् ।
नेपाली लेखक सङ्घ, स्याङ्जाद्वारा प्रकाशित ‘मुनाल (बतासे प्रेम)’ मा समसामयिक विषयवस्तु समेटिएका ८३ वटा चोटिला मुक्तकसँगै प्रत्येक मुक्तकअनुसारका रेखाचित्र (स्केच) समावेश गरिएको छ । कृतिको सम्पादन मिलन समीरले गरेका हुन् ।
कार्यक्रममा कालिका पुस्तकालयका अध्यक्ष श्यामप्रसाद अर्यालले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण सन्जु दोरङ्गा अर्यालले गरेकी थिइन् । कार्यक्रममा विभिन्न स्रष्टाहरूले आफ्ना रचनाहरू वाचन गर्दै वातावरणलाई साहित्यमय बनाएका थिए ।
वक्ताहरूले भीरकोटमा साहित्यिक गतिविधि विस्तार हुँदै गएको उल्लेख गर्दै ‘मुनाल (बतासे प्रेम)’ लाई त्यसकै महत्वपूर्ण उपलब्धिको रूपमा लिएका थिए । उनीहरूले साहित्यमा निरन्तरता र समर्पण आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रमको अन्त्यमा आयोजकले प्रमुख अतिथि, विशिष्ट अतिथि, वक्ता तथा सहभागी स्रष्टाहरूलाई मायाको चिनोसहित सम्मान गरेको थियो ।





