भरतपुर, १२ भरतपुर ।
पठन संस्कृति अभियान अन्तर्गत विद्यार्थीका पठन अनुभव र अनुभूति सुन्ने कार्यक्रम `म पनि पढ्छु´को १५ औँ शृङ्खला पोलर स्टार इङ्लिस स्कुल भरतपुर – ८ गौरीगञ्जमा गरिएको छ ।
बिहीबार विद्यालयको सभाहलमा गरिएको कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी सहभागी थिए । कार्यक्रमको सुरुवातमा निरञ्जन अधिकारीले थिङ्क एन्ड ग्रो रिच पुस्तकको टिप्पणी सुनाए । त्यसैगरी प्रनिस भुसालले ७२ सालको भूकम्प, सौरभ कँडेलले जीवनको सपना, अनिसा पौडेलले सपनाको देश, सुदिक्षा तामाङले सेतो धरती, प्रेश्का भुजेलले स्पर्श, सिमोन रानामगरले कालो गुलाफ, आकृति भुसालले डन्ट किल हिम, सुप्रिया अधिकारीले सुहाना र आर्यन काफ्लेले शिरिषको फूल पुस्तकमाथि टिप्पणी राखे । विद्यार्थीले किताबको परिचय राख्दै किताबले समेटेको विषयवस्तु र त्यसले दिएको सन्देश बारेमा चर्चा गरेका थिए ।
विद्यार्थीहरु आयुषा सुवेदी र महिमा कँडेलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सुवेदीले एउटा कविता पनि प्रस्तुत गरेकी थिइन् । अतिरिक्त किताब पढ्ने बानीले विद्यार्थीको सिकाइ क्षमताको विकास हुने प्रधानाध्यापक दयानिधि अर्यालले बताए । कार्यक्रमका प्रमुख अतिथि उदय अधिकारीले सामाजिक सञ्जाल र ईन्टरनेटलाई नकारात्मक किसिमले हेर्न नहुने भन्दै ती प्लेटफर्मबाट राम्रा चिज खोजेर हेर्न सकिने बताए । कार्यक्रममा पठन संस्कृति अभियन्ता लेखराम सापकोटा र गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको पनि उपस्थिति थियो । कार्यक्रम संयोजक बुद्धिसागर कँडेल रहेका थिए भने प्राडा देवीप्रसाद कँडेलले अध्यक्षता गरेका थिए ।
एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज र अङ्कुरम् एकेडेमीको सहयोगमा सम्पूर्ण किताब नारायणगढले चितवन र नवलपरासीका विद्यालयमा `म पनि पढ्छु´ कार्यक्रम गरिरहेको छ ।





