अपाङ्गता र सामाजिक न्यायको सन्देश बोकेको ‘बदलिएको जीवन’ नाटक भरतपुरमा प्रदर्शन

भरतपुर, ११ असार ।
अपाङ्गता भएका व्यक्तिप्रति परिवार र समाजको दृष्टिकोण परिवर्तन गर्न तथा सामाजिक न्यायको सन्देश प्रवाह गर्ने उद्देश्यले भरतपुरमा ‘बदलिएको जीवन’ शीर्षकको नाटक प्रदर्शन गरिएको छ ।


‘सबल पाइला : सबैका लागि रङ्गमञ्च’ अभियानअन्तर्गत देशका विभिन्न स्थानमा नाटक मञ्चन गर्दै आएको टोलीले बिहीबार भरतपुर महानगरपालिका–७ कृष्णपुरस्थित चेतना भिलेजमा नाटक प्रस्तुत गरेको हो ।

नाटकले अपाङ्गता भएका व्यक्तिलाई दया वा उपेक्षाको दृष्टिले होइन, समान अधिकार र अवसर प्राप्त नागरिकका रूपमा व्यवहार गर्नुपर्ने सशक्त सन्देश दिएको छ । परिवार र समाजबाट उचित साथ, सहयोग तथा अवसर प्राप्त भएमा अपाङ्गता भएका व्यक्तिहरूले पनि अन्य व्यक्तिसरह आफ्नो क्षमता, प्रतिभा र दक्षता प्रदर्शन गर्न सक्ने विषयलाई नाटकमार्फत जीवन्त ढङ्गले प्रस्तुत गरिएको थियो ।

विशेषगरी अपाङ्गता भएका महिलाहरूले अभिनय गरेको नाटकले उनीहरूले दैनिक जीवनमा भोग्नुपरेका चुनौती, विभेद र संघर्षलाई उजागर गर्नुका साथै आत्मविश्वास, आत्मनिर्भरता र समान सहभागिताको आवश्यकतालाई जोड दिएको साहित्यकार उदय अधिकारीले बताउनुभयो ।

नाटक अवलोकन गर्न चितवनका अपाङ्गता भएका व्यक्तिहरू, सामाजिक अभियन्ता, शिक्षक, पत्रकार तथा अर्किड स्कुलका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

३५ मिनेट अवधिको उक्त नाटक सरिता थुलुङले लेख्नुभएको हो भने निर्देशन सरिता पेहिङले गर्नुभएको हो । नाटक ब्रीटिश काउन्सिलको सहयोगमा प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट