‘देशकै गहना’ नारायणी नमुना माविप्रति अर्थमन्त्रीको प्रतिबद्धता : आगामी वर्ष बजेट सुनिश्चित गर्ने आश्वासन

चितवन, ११ असार ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयलाई चितवनको मात्र नभई समग्र देशकै गहनाका रूपमा वर्णन गर्दै यसको विकास र विशेष शैक्षिक कार्यक्रमलाई थप सशक्त बनाउन संघीय सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार विद्यालयको बौद्धिक अपाङ्गता इकाइ तथा नेत्रहीन छात्रावासको अवलोकन गर्दै मन्त्री वाग्लेले विशेष आवश्यकता भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनसँग छलफल गर्दै समावेशी शिक्षालाई थप प्रभावकारी बनाउन आवश्यक सहयोगका विषयमा जानकारी लिएका थिए ।

विद्यालयको ऐतिहासिक योगदान र शैक्षिक विरासतको चर्चा गर्दै उनले भने, “यो विद्यालय चितवनको मात्र होइन, देशकै गहनाको रूपमा स्थापित संस्था हो । यहाँबाट हजारौँ विद्यार्थीले शिक्षा हासिल गरेका छन्। विशेष आवश्यकता भएका विद्यार्थीका लागि गरिएको व्यवस्थापन अझ प्रेरणादायी छ ।”

मन्त्री वाग्लेले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाको व्यवस्थापन मुख्यतः स्थानीय तहबाट हुने भए पनि नीति निर्माण, स्रोत व्यवस्थापन र आवश्यक सहजीकरणमा संघीय सरकारले निरन्तर सहयोग गर्ने बताए । स्थानीय सरकार, विद्यालय र समुदायबीचको सहकार्यबाट मात्रै समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिने उनको भनाइ थियो ।

पत्रकारसँगको संक्षिप्त कुराकानीमा उनले विद्यालयका आवश्यकता र यहाँ सञ्चालन भइरहेका विशेष कार्यक्रमबारे आफू जानकार रहेको उल्लेख गर्दै संघीय सरकारका तर्फबाट आवश्यक पहल र सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

“चालु आर्थिक वर्षको बजेट आइसकेको अवस्थामा तत्काल नयाँ बजेट व्यवस्थापन गर्न सहज छैन,” उनले भने, “तर आगामी आर्थिक वर्षमा आवश्यक बजेट सुनिश्चित गर्न पहल गर्नेछु ।”

चितवनको शैक्षिक इतिहाससँग जोडिएको नारायणी नमुना माविले नियमित शिक्षासँगै बौद्धिक अपाङ्गता भएका तथा दृष्टिविहीन विद्यार्थीका लागि विशेष शैक्षिक सेवा प्रदान गर्दै आएको छ । विद्यालयको यो अभ्यासलाई देशकै नमुना समावेशी शिक्षा कार्यक्रमका रूपमा हेरिँदै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट