चितवन, ११ असार ।
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवनले ३० स्वर्ण पदक जित्दै समग्रमा तेस्रो स्थान हासिल गरेको छ । चितवनसहित हेटौंडा, काठमाडौं र ललितपुरमा आयोजित प्रतियोगितामा चितवनले प्रदेश खेलकुद इतिहासकै उत्कृष्ट नतिजा निकालेको हो । प्रदेशस्तरीय प्रतियोगितामा चितवन समग्रमा तेस्रो भएको यो पहिलो पटक हो ।
चितवनले एथ्लेटिक्समा सर्वाधिक १५ स्वर्ण, १३ रजत र ३ कांस्य पदक जित्यो । करातेमा ३ स्वर्ण, ५ रजत र ३ कांस्यसहित ११ पदक जित्दै टोली पहिलो बन्न सफल भयो । प्रदेश खेलकुदमा करातेतर्फ चितवन पहिलो भएको पनि यो पहिलो अवसर हो ।
यसैगरी, चितवनले पुरुष क्रिकेट र पुरुष फुटबलमा पहिलो स्थान हासिल गर्दै नयाँ इतिहास रचेको छ । आईटिएफमा २ स्वर्ण, ३ रजत र ११ कांस्य, ब्याड्मिन्टनमा २ स्वर्ण, १ रजत र २ कांस्य, चेसमा २ स्वर्ण र १ रजत तथा बक्सिङमा २ स्वर्ण पदक जितेको छ । तेक्वान्दो र उसुमा १/१ स्वर्ण तथा महिला फुटबल, क्रिकेट र पुरुष भलिबलमा १/१ रजत पदक प्राप्त गरेको छ ।
चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले यस पटकको प्रतियोगितामा चितवनले केही खेलमा कीर्तिमानसहित उत्कृष्ट प्रदर्शन गरेको बताए । कराते, फुटबल र क्रिकेटमा पहिलो पटक च्याम्पियन बन्नु चितवनको खेलकुद क्षेत्र सही दिशामा अघि बढिरहेको संकेत भएको उनको भनाइ छ ।
उनले समितिको लगानीलाई खेलाडीहरूले उत्कृष्ट नतिजामार्फत सार्थक बनाएको उल्लेख गर्दै केही खेलमा सहभागिता जनाउन नपाउँदा पनि चितवन तेस्रो हुन सफल भएको बताए । आगामी संस्करणमा समग्र च्याम्पियन बन्ने लक्ष्यका साथ खेलाडीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।





