मकवानपुर, २० माघ ।
मकवानपुरका ४ हजार ४ सय ३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ ।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मकवानपुरमा २५ माघबाट एचपीभी खोप अभियान सुरु हुने भएको हो । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त अभियानमा जिल्लाभरका किशोरीलाई लक्षित गरेर खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका १० वटै स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत १० वर्ष उमेर समूहका ४ हजार ४ सय ३ किशोरीलाई एचपीभी खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा २५ माघ देखि १ फागुनसम्म विद्यालय तहको कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिनेछ ।
विद्यालय बाहिर रहेका तथा अभियानका क्रममा छुटेका किशोरीलाई २२ फागुनसम्म स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवाबाट खोप उपलब्ध गराइने जनस्वास्थ्य कार्यालयका खोप फोकल पर्सन बासुदेव रिमालले जानकारी दिए ।
हरेक वर्ष फागुन महिनामा लगाइने भनिएको यो खोप यस वर्ष भने प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण समय अगावै सञ्चालन गर्न लागिएको बताइएको छ । उक्त खोप नियमित रूपमा उपलब्ध हुने निमित्त प्रमुख घिमिरेले जानकारी दिए ।
स्वास्थ्यकर्मीहरूले एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरबाट जोगिन सहयोग गर्ने भएकाले लक्षित उमेर समूहका किशोरीलाई खोप कार्यक्रममा सहभागी भइ खोप लगाउन आग्रह गरेका छन् ।





