राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता सम्पन्न, निश्चल अधिकारी प्रथम

चितवन, २० माघ ।
‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा ‘स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान’ भन्ने उद्देश्यका साथ सरल नेपालको आयोजना र लायन्स क्लब ३२५ आर, क्लस्टर–३ को प्रस्तुतिमा राष्ट्रियस्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला प्रतियोगिता’ सम्पन्न भएको छ ।

सरल नेपाल संस्थाका केन्द्रीय अध्यक्ष मनिष पौडेलको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख गणेश अर्यालको प्रमुख आतिथ्यतामा भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भएको हो ।

समापन कार्यक्रममा लायन्स डिस्ट्रिक्ट गभर्नर लायन्स नवराज सापकोटा, प्रथम भाइस गभर्नर लायन्स प्रभाकर पण्डित, लायन्स डिस्ट्रिक्ट परिषद् ३२५ आर, क्लस्टर–३ का क्लस्टर प्रमुख अजामिन ढकाल, ब्रह्मकुमारी युवा प्रभागका ब्रह्मकुमारी प्रतिमा घिमिरे र अन्जिता न्यौपाने, लायन्स रिजन चेयरपर्सन बद्रीप्रसाद घिमिरे, जोन चेयरपर्सन अमृता भट्टराई, सन्तोष मजाकोटी, हरिप्रसाद ढकाल, दीपक बस्नेत, समाजसेवी नवराज पौडेल, युवा समाजसेवी आकाश अर्याल, सुसन पौडेल तथा अपाङ्ग समाज चितवनका ओमप्रकाश गाहा मगरलगायत अतिथिहरूको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा सरल नेपालका प्रतिनिधि, पत्रकार, अङ्कुरम् स्कुलका विद्यार्थीहरूलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतियोगितामा चितवनको भरतपुर महानगरपालिका–२७ का निश्चल अधिकारी (प्रतियोगी नम्बर १२) प्रथम भई ३० हजार रुपैयाँ नगद, कदरपत्र र मेडलबाट पुरस्कृत भएका छन् ।

त्यसैगरी, धादिङको नीलकण्ठ नगरपालिका–७ की ईशा थापा (प्रतियोगी नम्बर ६) ले दोस्रो स्थान हासिल गरी २० हजार रुपैयाँ नगद, कदरपत्र र मेडल प्राप्त गरेकी छिन् भने नवलपुरको हुप्सेकोट गाउँपालिका–४ का रमेश भुर्तेल (प्रतियोगी नम्बर १५) तेस्रो भई १० हजार रुपैयाँ नगद, कदरपत्र र मेडलबाट पुरस्कृत भएका छन् ।

यसैगरी, लमजुङको दोर्दी गाउँपालिका–२ का सुनिल मरेटा (प्रतियोगी नम्बर १९) ले चौथो स्थान हासिल गरी कदरपत्र र मायाको चिनो प्राप्त गरेका छन् भने चितवनको भरतपुर महानगरपालिका–२५ का निकेश न्यौपाने (प्रतियोगी नम्बर ९) ले पाँचौँ स्थान हासिल गरी कदरपत्र र मायाको चिनो प्राप्त गरेका छन् ।

प्रतियोगितामा सहभागी वक्ताहरूले युवाको सशक्त अभिव्यक्ति नै राष्ट्रको भविष्य निर्माणको आधार हुने धारणा व्यक्त गरेका थिए । देशभरका युवाहरूको सहभागितामा सम्पन्न उक्त प्रतियोगिताले युवाहरूको विचार, अभिव्यक्ति क्षमता र नेतृत्वदायी सोचलाई राष्ट्रिय मञ्चमा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताको पहिलो चरणमा देशका ७७ वटै जिल्लाबाट सहभागी भएका मध्ये उत्कृष्ट २० जना छनोट गरिएको थियो। पहिलो चरणमा सहभागीहरूलाई ‘अबको नेपालमा GEN-Z को भूमिका’ विषयमा ३ मिनेटको भिडियो तयार गर्न लगाइएको थियो। दोस्रो चरणमा छनोट भएका उत्कृष्ट २० प्रतियोगीलाई ‘नेपालमा सामाजिक सञ्जाल: अवसर कि अवगाल?’ विषयमा ५ मिनेटको भिडियो निर्माण गर्न लगाइएको थियो ।
विषयवस्तुको स्पष्टता, भाषिक कौशल, प्रस्तुतीकरण शैली, तर्कशक्ति, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरका आधारमा युवा पत्रकार सन्तोष देउजा, अधिवक्ता पवित्रा सुवेदी तथा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव बालकृष्ण थपलियासहित तीन सदस्यीय निर्णायक मण्डलद्वारा मूल्याङ्कन गरी उत्कृष्ट पाँच छनोट गरिएको हो ।

उक्त प्रतियोगितालाई सफल बनाउन मुख्य प्रायोजकको रूपमा लायन्स जिल्ला परिषद् ३२५ आर, क्लस्टर–३ रहेको थियो । कार्यक्रम व्यवस्थापन मोक्षालय बहुउद्देश्यीयले गरेको थियो । सहयोगी संस्थाहरूमा युवा पहल (लुम्बिनी प्रदेश), युवा अभियान नेपाल, कम्युनिटी डेभलपमेन्ट फाउन्डेसन नेपाल रहेका थिए । त्यस्तै, मेडिकल पार्टनरका रूपमा जीवन सिटी अस्पताल प्रा.लि. (कावासोती, नवलपुर), अन्तर्राष्ट्रिय शिक्षा साझेदारका रूपमा लेड्रा कलेज, शिक्षा साझेदारका रूपमा लर्ड बुद्ध एकेडेमी अफ साइन्स एण्ड म्यानेजमेन्ट, परामर्श साझेदारका रूपमा निप्पोन एजुकेशनल सेन्टर तथा फार्मेसी साझेदारका रूपमा एसियन फार्मेसी रहेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट