बहादुर शाह, द्रव्य शाह र राम शाह


धनराज गिरी
‘के युद्ध अनिवार्य हो ?’ मलाई दीर्घकालदेखि यो प्रश्नले लखेटिरहेको छ । एउटा अवस्था थियो हिन्दी चलचित्र हेर्ने । फाइट खुब मनपर्ने । गोठालो जाँदा गोरु जुधाउन पाए दिन सफल भएझै लाग्ने । के हाम्रो रगतमा नै ‘युद्ध’ मन पराउने गुण छ ? पिताश्री परशुरम गिरी द्वितीय विश्वयुद्धको सिपाही ।
समरमा जोगिएर नेपाल फर्किनुभयो । गोलीको शिकार हुनु भएको भए मैले आज यो लेख्ने संभावना नै हुने थिएन । युद्धका बारेमा बाले कहिल्यै पनि केही पनि बताउनु भएन । त्यो संचार नै आएन । पढाइतिर मात्र ध्यान दिन प्रेरित गर्नुभयो । तमाम युद्धहरुलाई अनुभूत गर्दा मेरो ह्दयले युद्धको पक्षमा कहिल्यै पनि वकालत गरेन । फेरि म एउटा सानो मान्छेले पक्ष वा विपक्षमा बोल्दैमा वा लेख्दैमा यत्रो विशाल सन्सारमा केही प्रभाव पर्ने वाला होइन । यही लेख पनि छापिने छ, केही पाठकहरुले पढ्नुहुनेछ । ‘लेखिहने मान्छे हो, यसपाली यस्तो विषय छानेछ’ भनेर शीर्षक मात्र हेरेर छाड्ने संभावना धेरै । थोरैले मात्र अरुको लेख पुरै पढ्ने संभावना हुन्छ । म स्वयं पनि खास खास आफन्तहरु बाहेक अरुको लेख पढ्दिन । उपयोगिता ह्रास नियम कहाँ लागू हुन्न र ? ‘युद्ध’ विवेकको उपज होइन । ‘युद्ध’ ज्ञानी र बुद्धिमान मानिसको कर्म पनि होइन । युद्ध एउटा पागलपन हो, उन्माद हो ।

युद्धले जहिले पनि युद्ध नै निम्त्याउँछ,द्रोणी बनाएर जान्छ मानव सभ्यतालाई । बहादुर बीर लडाकु यी विशेषणहरु पनि बेकारझै लाग्दछ । मानवताको दुश्मन हो युद्ध । युद्ध होइन यो संसारलाई जहिले पनि बुद्ध चाहिएको छ । एकजना मान्छेको ज्यान जोगाउन एउटा चिकित्सक आफ्नो जीवनभरिको ज्ञान सदुपयोग गर्दछ, अप्रेसन थेयटरमा । यता युद्ध उन्मादीहरु एकैछिनमा हजारौं मानिसहको ज्यान लिन्छन यही हो धर्म ? यही हो मानवता ? हतियारका मतियारहरु सम्झ्यो कि दिगमिग लाग्दछ । हतियार उत्पादन गर्ने देशहरु आफैंमा अदृश्य अपराधी त होइनन ? अर्को खतरनाक कुरुप उपहार पायो आधुनिक मानव सम्भयताले आतकंवाद । मलाई दिमागमा कता कता के के सल्बलाएझै लाग्यो । ‘आतंकवाद क्रिया हो कि प्रतिक्रिया ?’ यो प्रश्नको उत्तर खोजे । आजसम्म पाएको छैन । तर मेरो मनले भन्छ ः आतंकवाद जन्माइन्छ । यो क्रिया होइन । कारण होइन, परिणाम हो ।

जसरी भीमसेनले दुर्योधनको जंघा तोड्नु कारण थिएन, दुर्योधनको ज्यादतिको परिणाम थियो, काल्पनिक कथा भए पनि । मलाई लाग्दछ युद्ध पनि कारण होइन, परिणाम हो । ‘हामी हतियार उठाउन विवश भयौं’ यसो भन्ने जमात पनि नपाइने होइन । मैले यसो भनेर युद्धो पक्षमा वकालत गरेको होइन । शक्ति हातमा हुने निर्णायकहरु अत्याचारी भएपछि र शक्तिहीनहरुको चेतना जागृत भएर प्रतिकारमा उत्रिएपछि ‘आक्रमण ।’ भनिदो रहेछ । नेपालकै इतिहास हेर्दा पनि यही कुरा स्पष्ट हुन्छ । हाम्रो समाजमा ज्यादै नै शोषण छ, उत्पीडन छ, हेपाइ चेपाइ छ । तथाकथित् ठूला जातका मानिसहरुले अछुत र दलितहरु माथि गर्ने क्षुद्र व्यवहारको साक्षी म स्वयं पनि हुँ । बिस्तारै बिस्तारै परिवर्तन पनि हुँदै छ । अनि हरेक युगमा केही ‘बहादुर शाह’हरु जन्मिन्छन् लड्नका लागि, अकालमा मरेर सड्नका लागि यिनीहरुको दरबन्दी हो ‘बीर शहीद’ कथा मजाक ।

मलाई यो संसारमा शहीदमाथि जाति मजाक अरुमाथि भएझै लाग्दैन । आज पनि केही ज्यूँदा शहीदहरु हरेक रंगक महलहरुमा, झुपडीहरुमा पाउँछु । ‘बेकार लडिएछ’ धेरैको मनमा छ । भन्न लाज हुन्छ । आज गर्वका साथ ‘म यो आस्थाको मान्छे हुँ’ भन्ने वातावरण भएझै लाग्दैन । वाचाल भएर त जे भन्न पनि सकिन्छ । धरातलीय यथार्थ यही हो, परिवर्तन केही टाठाबाठाहरुलाई गतिलै ‘मुवाब्जा’ दिन भनेर आएको रहेछ । खासै सफल र सार्थक भएझै लागेन । बहादुर शाह पछि कुरा आउँछ ‘राम शाहको’ यसलाई बिम्बका रुपमा बुझ्न हुन अनुरोध गर्दछु । इतिहास भन्छ राम शाहले राम्रो स्थिति बसालेका थिए । समाज सुधारकको रुपमा उनलाई चित्रित गरिन्छ । हाम्रा ‘राम शाह’ हरु पनि सक्कली ‘राम शाह’ बन्छन् कि भन्ने आशा गरियो । तर चिताए अनुसारको ज्ञान, सीप, दक्षता, इमान, नैतिकता यिनीहमा नास्ति । मात्र ‘जेल बस्नु’ योग्यता हुनेरहेनछ । आन्दोलन गर्नु र राज्य व्यवस्थापन गर्नु एउटै कुरा होइन । परीक्षामा प्रश्न च्यात्नु र प्रश्नहरुको सही उत्तर लेख्ने योग्यताको विकास गर्नु एउटै होइन ।

‘धाई आमा’ बन्न सजिलो छ तर ‘पाई आमा’ बन्न ज्यानको बाजी राख्नु पर्दछ । हाम्रा उत्तरआधुनिक ‘राम शाह’ हरु धेरै ठाउँमा चुके । ‘हामीले गल्ती गरेकै हो, क्षमा याचना गर्दछौं’ भन्ने साहस आजसम्म कसैले पनि गरेको थाहा छैन । ‘नेता’ शब्दलाई हामी धज्जी उडउने वस्तुका रुपमा लियौं । संस्कार पनि अचम्मको हुर्कियो । उनीहरुकै दौराको फेरा समाए वैतरणी पार हुन सपना देख्ने पनि हामी नै उहीहरुलाई तथानाम भनेर धारे हात लगाउने पनि हामी नै । ‘नेता र भ्रष्टाचार’ पर्यायझै मानियो । तर यो पूर्ण सत्य भएझै लाग्दैन । भ्रष्ट समाज त उहिलेदेखि हो ।
यहाँ को छैन भ्रष्ट ? आफूले भ्रष्टाचार गर्न नपाएमा मात्र भ्रष्टाचारको विरोध गरिएको त होइन नि ? आन्तरिक रुपमा हाम्रो संस्कारनै भ्रष्ट छ । हामी सबै दोषी छौं, मात्र फरक होला । आत्मालोचना हामी सबैले गर्नुपर्दछ । हामी सबै किन भ्रष्ट ? कुरो प्रष्ट । बहादुर शाह र रामशाहके चर्चपछि अर्को मुकाम, गन्तव्य हो ‘द्रव्य शाह’ । हामी सबै, अक्सर बौद्धिक जमात, छिटोभन्दा छिटो ‘द्रव्य शाह’ बन्न चाहन्छौं । आज समाजको कसैको सम्मान छ, इज्जत छ भने बहादुर शाहको होइन, रामशाहको होइन, द्रब्य शाहको हो । यो युग नै मौद्रिक युग हो । सुनचाँदी हिरामोतीले सबैलाई वशीभूत बनाएको छ । ‘भोज र मोज’ को संस्कार हुर्किएके छ ।

‘जोगी हुन राजनीति गरेको हो र ? ’ हरेक पापबाट उम्किने मन्त्र । आज बहादुर शाह र राम शाहहरुलाई ‘टेलिभिजन’ बनाएर द्रब्य शाहहरु ‘रिमोट’ भएका छन् । भित्री मालिक द्रब्य शाहहरु हुन । यो संसारकै राजनीति केही ‘द्रव्य शाह’हरुको हातमा छ भनेमा अत्युक्ति नहोला । सर्वसाधारण त सधै सर्वसाधारण नै हुन । चुनावमा एकपटक काम लाग्छन् । उनीहरुको सपना धेरै ठूलो छैन । द्रव्य शाहहरु बडा सिपालु मदारी हुन । यिनीहरु जस्तोसुकै विषालु सर्पलाई पनि नचाउन सक्छन् । मरेकालाई बचाउन सक्छन । राष्ट्रिय बजेट नै पचाउन सक्छन् । खान र खुवाउन च्याम्पियन । देशलाई रुवाउन वस्तादा ।
आज हामीले नकारात्मक ‘द्रव्य शाह’हरु चिन्नु परेको छ । काम सजिलो छैन । झन यी योग्यता विहिन समयनायकहरुलाई यी द्रव्य शाहहरुले आफ्नो ‘मोहोरा’ सजिलै बनाउने कुरा जगजाहेर । ‘नायक’ जन्मिने हो र कानुनी राज्य स्थापना हुने हो भने विस्तारै विस्तारै यी ‘रुघा’, खोकी र ज्वरो’ ठीक हुने थिए । तर आश गर्दा गर्दै बुढेशकाल पो लाग्यो त । यस्तै मात्र लेख्न थालेको पनि २२ वर्ष लाग्यो । के हाम्रा ‘रामशाह’हरु उज्यालोमा आउलान् ?

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट