भरतपुर, १९ पुस
कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) चितवनको तेस्रो वार्षिक साधारणसभा शनिबार भरतपुरमा सम्पन्न भएको छ । साधारणसभाबाट क्लबको नयाँ कार्यसमिति चयन गर्दै गोविन्दप्रसाद सुवेदी अध्यक्षमा निर्वाचित भएका छन् ।
सभा क्लबका अध्यक्ष मेघनाथ लामिछानेको अध्यक्षतामा तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य डा. रमेशप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको स्वागत मन्तव्य क्लबका उपाध्यक्ष गोविन्दप्रसाद सुवेदीले राखेका थिए ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. चौलागाईंले सहकारी क्षेत्र देशको आर्थिक स्थायित्वको मेरुदण्डको रूपमा विकसित हुँदै गएको उल्लेख गरे । सहकारीलाई अझ मजबुत, पारदर्शी र उत्तरदायी बनाउन व्यावसायिक व्यवस्थापन अपरिहार्य रहेको उनको भनाइ थियो । सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन कमजोर हुँदा सहकारीमा समस्या देखिने भन्दै व्यवस्थापकहरूले नीति, प्रविधि र समयको मागअनुसार आफूलाई निरन्तर अद्यावधिक गर्नुपर्नेमा उनले जोड दिए ।
जिल्ला सहकारी संघ लिमिटेड चितवनका अध्यक्ष शरदकुमार बर्तौलाले सहकारी संस्था अब केवल वित्तीय कारोबारमा सीमित नभई सामाजिक तथा आर्थिक रूपान्तरणका सशक्त माध्यम बन्नुपर्ने बताए ।
व्यवस्थापकहरूको क्षमता विकास, नैतिकता र उत्तरदायित्व बिना सहकारी अभियान सुदृढ हुन नसक्ने उल्लेख गर्दै उनले सिएमसी जस्ता संस्थाले सहकारी क्षेत्रलाई व्यावसायिक मार्गदर्शन प्रदान गरिरहेको धारणा व्यक्त गरे ।
चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइरालाले सहकारी संस्थाहरू सदस्यको जीवनस्तर उकास्ने माध्यम बन्नुपर्नेमा जोड दिइन् । उनले महिला नेतृत्व, वित्तीय अनुशासन र दीर्घकालीन योजनाको महत्व औंल्याउँदै सहकारी व्यवस्थापनमा पारदर्शिता र सेवाभाव मुख्य आधार हुनुपर्ने बताइन् ।
नेफस्कूनकी उपाध्यक्ष शान्ति ढकाल अधिकारीले बदलिँदो आर्थिक परिवेशअनुसार सहकारी क्षेत्रले प्रविधि, डिजिटल सेवा र जोखिम व्यवस्थापन प्रणालीलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याइन् । प्रोस्कुनका सल्लाहकार तथा सहकारी अभियन्ता तेजेन्द्रबहादुर खड्काले सहकारी अभियानको मूल आत्मा सदस्य सेवा र सामूहिक उन्नति भएको उल्लेख गरे ।
त्यस्तै, नेफस्कूनका पूर्व सञ्चालक भरतप्रसाद दवाडीले सहकारीलाई दिगो बनाउन स्पष्ट दृष्टिकोणसहितको नेतृत्व र इमानदार कार्यशैली आवश्यक रहेको बताए । लघु बीमा विज्ञ शिव अधिकारीले सहकारीमा जोखिम व्यवस्थापन र बीमाको महत्वबारे चर्चा गर्दै सदस्यहरूको भविष्य सुरक्षित गर्न लघु बीमा कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिए ।
सभामा क्लबका सचिव दीपक गौतमले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संगठनका गतिविधि, तालिम कार्यक्रम र भावी योजनाबारे जानकारी गराए भने कोषाध्यक्ष सरु ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्लबको आर्थिक अवस्था सन्तोषजनक रहेको जानकारी दिइन् ।
साधारण सभाबाट निर्वाचित नयाँ कार्य समितिमा गोविन्दप्रसाद सुवेदी (प्रेरणा साकोस) अध्यक्ष, दीपक गौतम (मार्गदर्शन साकोस) उपाध्यक्ष, प्रेमप्रसाद ढकाल (अथर्व साकोस) सचिव र फणिन्द्र अधिकारी (पुष्पाञ्जली साकोस) कोषाध्यक्ष चयन भएका छन् । सदस्यहरूमा शशीकला रेग्मी (माँ मनकामना साकोस), अर्जुन लामिछाने (समझदारी भोजाड साकोस), हरिराम ढकाल (चेम्बर बहुउद्देश्यीय सहकारी), मुना धिताल (रारा कृषि सहकारी) र निता योन्जन (नागरिक साकोस) रहेका छन् ।
निर्वाचन समितिका संयोजक अधिवक्ता डा. हरिहर पोखरेल तथा सदस्यहरू डा. जीवनकुमार श्रेष्ठ र शिवबहादुर भण्डारीले निर्वाचन प्रक्रिया निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न भएको घोषणा गरे। नव निर्वाचित अध्यक्ष सुवेदीले सिएमसी चितवनलाई थप सशक्त, अनुशासित र प्रभावकारी बनाउँदै सहकारी व्यवस्थापनमा व्यावसायिक नेतृत्व विकास र संस्थागत सुधारमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।





